रक्सौल नाकामा भारतले अबरोध हटायो

209
  •  
  •  
  •  

काठमाडौं १२ माघ ।
पाँच महिनादेखि अवरुद्ध वीरगञ्ज–रक्सौल नाकामा रहेको अवरोध भारतीय पक्षले हटाएको छ ।मधेसी दलले मितेरी पुलमा अवरोध राखेर धर्ना बसेपछि भारतीयपक्षले पनि रक्सौलबाट नेपालतर्फ सामान आपूर्तिमा गरेको अवरोध अब नरहेको भारतीय भन्सार कार्यालयका अधिकारीहरुले बताएका हुन् ।

रक्सौलमा रहेको भारतीय भन्सारका अधिकारीहरुले नेपाल भित्रने मालवाहक सवारी साधनलाई अब आफुहरुले अवरोध नगर्ने बताएका हुन् ।

रक्सौल भन्सार मिडिया प्रभारी (सूचना अधिकारी) अभिषेक कमलले व्यपारीहरु नेपालतर्फ सामान लैजान तयार भए आफूहरुको तर्फबाट कुनै अवरोध नहुने बताए ।

सरकारले शनिबार संविधान संशोधन गरेपछि मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी दलले नाकाबन्दी कायमै रहेको बताइरहेका बेला भारतीय सरकारले भने संविधान संशोधन सकरात्मक भएको टिप्पणी गरिसकेको छ ।

‘व्यपारीहरु ट्रकसहितको सामान लैजान तयार हुन्छन् भने पनि हामीबाट कुनै अवरोध हुँदैन’, मिडिया प्रभारी कमलले भने, ‘हामी कस्टम जाँचपास गर्न तयार छौं ।’ सीमामा जारी अवरोध दुईचार दिनभित्रमा हट्ने पनि भारतीय अधिकारीहरुले संकेत गरेका छन् ।

संविधान संशोधनले मधेसी दलको माग पुरा भएको दाबी सरकारले गरेपनि वीरगञ्ज–रक्सौल नाका अझै खुलेको छैन । रक्सौल नाकामा मधेसी दलको धर्ना यथावत नै छ ।

नाकाबन्दी शुरु भएदेखि भारतीय कस्टमले नेपाल भित्रिने सामानको जाँचपास रोकेको थियो । दुई सातायता भने रक्सौल कस्टमले नेपाल जाने सामानको जाँचपास सजिलै दिने गरेको छ ।

‘संविधान संशोधनको विदेश मन्त्रालयले ‘वेलकम’ गरिसकेको छ’, कमलले भने, ‘शायद दुईचार दिनमा नाकाको अवरोध हट्छ होला, हामी पनि त्यसैको प्रतिक्षामा छौँ ।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •