वीरगञ्ज नाका पुन: आन्दोलनकारीकै कब्जामा

219
  •  
  •  
  •  

वीरगञ्ज, १६ कात्तिक(ओएनएस) : सुरक्षाकर्मीले बल प्रयोग गर्दै खुलाएको वीरगञ्ज–रक्सौल नाकामा फेरी ठप्प भएको छ । बिहान करिब साढे ४ बजे नेपाल प्रहरीले बल प्रयोग गरेर खुलाएको नाका भारतीय ५ सय गाडी भारत फर्किएपछि पुन: ठप्प भएको छ । नाका क्षेत्रमा आन्दोलनकारीहरू दशगजा क्षेत्रमा जम्मा भएर धर्नामा बसेपछि नाका ठप्प भएको हो ।

सामान बोकेर भारतबाट नेपाल आएका करिब ५ सय ट्रक तथा अन्य मालबाहक गाडी एक महिनाभन्दा बढी समयदेखि वीरगञ्जमा अलपत्र थिए । भारतीय गाडीका चालकहरुले साथमा भएको पैसा सकिएर बिजोग भएको भन्दै उद्दारको पहल गरिदिन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा केही दिनअघि धर्ना समेत दिएका थिए ।

सुरक्षाकर्मीले नाका धर्ना दिँदै सुतिरहेका करिब दुई दर्जन आन्दोलनकारीमाथि बल प्रयोग गर्दै हटाएर नाका खोलेको थियो । अलपत्र भारतीय गाडी पास हुँदासम्म करिब १० बजेसम्म दश गजा क्षेत्र पारि रहेका भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीमाथि कडाइँ गरेका थिए । तर, सबै भारतीय गाडी रक्सौल प्रवेश गरेपछि भने आन्दोलनकारीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा प्रवेश दिएका थिए ।

बिहान नाका क्लियर भएसँगै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय भूमिमा ४० दिनदेखि अलपत्र रहेका मालबाहक गाडी नेपाल भित्र्याउने पहल गरेका थिए । उनको पहललाई भारतीय पक्षले वेवास्ता गरेपछि भन्सार र प्रहरीको तहमा कुराकानी भएको थियो ।

नेपाली पक्षले दश गजासम्म गाडी ल्याइदिन आग्रह गरेपनि भारतीय सीमा सुरक्षा बलको स्थानीय युनिटले उक्त आग्रह अस्वीकार गरेपछि मालबाहक गाडी वीरगञ्ज भन्सारबाट नेपाल प्रवेश गर्न सकेनन् ।


  •  
  •  
  •