व्यापारिक राजधानी रित्तिने चिन्ता

110
  •  
  •  
  •  

काठमाडौं २१ माघ ।
जारी मधेस आन्दोलनको ‘इपिसेन्टर’ बनेको मुलुककै प्रमुख व्यापारिक नाका गत असोज ७ देखि ठप्प छ । भारतसँग जोडिएका अन्य नाका सहज भइसक्दा पनि वीरगन्जबाट ४ महिना १३ दिनमा ५ वटा मालवाहक ट्रक मात्र भित्रिएका छन् । स्रोतका अनुसार ती ट्रकमा नेपाली सेनाको सामग्री रहेकाले सीमावर्ती रक्सौल कस्टमका कर्मचारीले बिहान धर्नाकारीको संख्या न्यून भएको मौका छोपी छाडेका थिए ।

जोगबनी, सुनौली, रुपैडिहालगायत नाका खुलिसक्दा पनि वीरगन्ज मात्र किन बन्द छ ? यहाँ आउने आन्दोलनरत दलका शीर्षस्थ नेतासमक्ष स्थानीय बासिन्दाले यही प्रश्न तेस्र्याउन थालेका छन् । नेताहरूले भने वीरगन्ज मुलुकको ‘लाइफलाइन’ भएकाले बन्द गर्नुपरेको, यहाँबाट कुल आयातको ७० प्रतिशत भित्रिन्छ लगायत पुरानै उत्तर दिएर पन्छिने गरेका छन् । त्यसो गर्दागर्दै मध्य तराईको यो नाकासहित वीरगन्ज बजार मृतप्राय: बनिसकेको छ । यहाँबाट भित्रिने भनेर रक्सौलमा रोकिएका मालवाहक सवारी साधन ‘रि–रुट’ भएर अन्य नाकाबाट मुलुक भित्रिसके, केही भित्रिने क्रममा छन् ।

भविष्यमा आउने नयाँ कन्साइन्मेन्टसमेत आयातकर्ताले अन्य नाका भएरै भित्र्याउने हिसाबले एलसी भरिरहेका छन् । रक्सौलस्थित भारतीय आयल डिपोले समेत नेपाली ट्यांकरमा इन्धन भर्न सुरु गरिसकेको छ । त्यहाँ इन्धन लोड गरी ट्यांकर विराटनगरको जोगबनी नाका भएर भित्रिरहेका छन् । मुलुकमा कुल खपत हुने पेट्रोल/डिजेलको ७० प्रतिशत, एलपीजी ग्यास ८० र हवाई इन्धन ९० प्रतिशत यही नाका भएर भित्रिने गरेको थियो । इन्धन आयातबाट मात्र वीरगन्ज भन्सारले दैनिक करिब ५ करोड रुपैयाँ राजस्व संकलन गथ्र्यो ।

अचेल छेवैबाट रुट बदलेर अर्को नाका गई आएका उपभोग्य वस्तु यस क्षेत्रका बासिन्दाले चर्को मूल्यमा किन्ने बाध्यता छ । सहज रूपमा इन्धन र खाना पकाउने एलपी ग्यास अझै पाउन सकेका छैनन् । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाँदा सयकडा १२ रुपैयाँसम्म बट्टा (अतिरिक्त) तिर्नुपर्ने अवस्था छ ।

सामान्य अवस्थामा दैनिक ३० देखि ३२ करोड रुपैयाँ राजस्व उठाउने वीरगन्ज भन्सारले यस अवधिमा झन्डै करिब ४५ अर्ब राजस्व घाटा बेहोरेको छ । भन्सार प्रमुख मित्रलाल रेग्मीले नाका भएर भित्रिने वस्तु अन्यत्रबाट ल्याइँदा त्यहाँको भन्सारको राजस्व असुली दोब्बर पुग्न थालेको बताए । नाका सुचारु नहुँदा वीरगन्जका अधिकांश क्लियरिङ एजेन्ट रोजगारविहीन छन् । वीरगन्ज औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगका कच्चा पदार्थ अन्य नाकाबाट भित्रिँदा उत्पादन लागत बढेको उद्योगीको गुनासो छ । यसरी उत्पादित वस्तु विराटनगर र भैरहवामा रहेका उद्योगका उत्पादनसँग मूल्यका आधारमा केही महँगो पर्दा बजारबाटै विस्थापित बन्ने खतरा बढेको छ । ठूला व्यापारिक घरानाले अन्य नाकामा भाडामा गोदाम लिन थालिसकेका छन् ।

कान्तिपुरबाट


  •  
  •  
  •