चक्रपथ निर्माणका लागि छुट्ट्याइएको बजेट यो वर्ष पनि फ्रिज

149
  •  
  •  
  •  

biratnagar ringroadविराटनगर, ३२ जेठ(ओएनएस) : वर्षेनी फ्रिज हुँदै आएको विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट यस पटक पनि फिर्ता जाने भएको छ । विराटनगर चक्रपथ निर्माणकालागि यसवर्ष छुटयाइएको बजेटमध्ये यस वर्ष आधा रकम फिर्ता जान लागेको हो ।

विराटनगर उपमहानगरपालिकाको बढ्दो सवारी चापलाई न्युनिकरण गर्न भन्दै वाइपास सडकको रूपमा डेढ दशक अघि देखी निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’कालागि आएको बजेट वर्षेनी आधा खर्च नभई फिर्ता जाने गरेको हो । यसवर्षपनि पहिलेका वर्षहरू जस्तै बजेट फिर्ता जाने लागेको हो ।

ठेक्का प्रकृयामा हुने ढिला सुस्तीका कारण वर्षेनी छुटयाइएको बजेट फिर्ता जाने गरेको छ । ठेक्का ढिलोगरी लाग्दा छुटयाइएको मध्ये करिब आधा रकम फिर्ता जाने गरेको छ । यस वर्षपनि छुटयाइएको ६ करोड ११ लाख बजेटमध्ये करिब आधा रकम फिर्ता जाने कार्यालयका सूचना अधिकृत पूर्णराज कार्कीले जानकारी दिए । उनले भने, ‘यस पटक तिनवटा खण्डमा ठेक्का प्रकृयाबाट रोडको ट्रयाक खोल्ने काम गर्दै छौ । छुटयाइएको बजेट भन्दा आधा रकममा ठेक्का लागेकाले उब्रेको रकम खर्च गर्ने समय छैन् ।’

उनले तिनवटा खण्ड निर्माणकालागि करिब पाँच करोडको ठेक्का आह्वान गरिएको तर, ठेकेदारहरुले आधा रकममा निर्माणको जिम्मा लिएका कारण बाँकी रहेको रकम फिर्ता जान लागेको बताए । यस वर्ष तिनवटा योजना २ करोड २८ लाखमा ठेक्का लागेको कार्कीले जानकारी दिए ।

२०६५/६६ देखी रिङरोड निर्माण गर्दै आएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले आएको रकम खर्च गर्न नसकेर फिर्ता जाने गरेको हो ।

कार्कीका अनुसार चैत अन्त्यमा ठेक्का प्रकृया पुरा गरेर तिनवटै क्षेत्रमा ठेकेदारले काम सुरु गरेका छन् । लखन्तरी झोराहाटमा दुई वटा खण्ड र बुधनगर महत्तो टोल खण्डमा ग्रवेल र स्तर उन्नतीको काम सुरु गरिएको छ ।

बजेटको अख्तियारी ढिलोगरी आउँदा असारमा विनियोजन गरेको बजेट चैतमा मात्र ठेक्का लागेको हो । चक्रपथ निर्माणको ठेक्काकालागि पुस २८ गते टेण्डर आह्वान गरिएको थियो । प्रकृया पुरा गरेर ठेकेदारलाई जिम्मा दिन तिन महिना लाग्यो । समयमा नै ठेक्का प्रकया अघि नबढ्दा पुरा रकम सदुपयोग नभएको हो । चैतदेखी काम सुरु गरेका ठेकेदारले भूकम्प आएकाले एक महिना काम रोकेका थिए ।

२०५४ साल देखी निर्माण सुरू गरिएको विराटनगर चक्रपथको ट्रयाक खोल्ने कार्य अझै पुरा भएको छैन । लखन्तरी झोराहाट खण्डमा अदालतले दिएको स्टे अडरका कारण ट्रयाक खन्न सकिएको छैन । ट्रयाक खोल्ने विषयमा स्थानीय अदालत पुगेका थिए । अदालतले तत्काल काम अघि नबढाउन स्टे अडर जारी गरेकाले सो क्षेत्रको केही भाग ट्रयाक खोल्न नसकिएको कार्यालयले जनाएको छ ।

४२ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणकालागि थोरै बजेट छुटयाइएका कारण काम अझै काम अघि बढेको छैन् । सूचना अधिकृत कार्कीले भने, ‘चाहिने भन्दा थोरै बजेट आउँछ । ट्रयाक पुरा नगरी पिच गर्न मिल्दैन ।’

रिङरोडकै लागि भनेर एक अस्थाई डिभिजन इन्जिनियर र ४ जना इन्जिनियरको दरबन्दी भएपनि माथीबाट नपठाइएको कार्कीले बताए ।

रिङरोड सञ्चालन आए विराटनगरको ट्राफिक जाम कम हुने छ । ठूला र मालवहाक सवारी साधनलाई वाईपास मार्गबाट आवगमन गराउनसके विराटनगरको ट्राफिक जाम कम हुने  बताइन्छ ।

सुरुवाती अवस्थामा निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालयले काम नगरेपछि सो जिम्मेवारी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयलाई दिएको थियो । तर, सो कार्यालयले पनि विकास बजेट खर्चन सकेको देखिदैन् ।

कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगछसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुने चक्रपथ निर्माणपछि सर्वसाधरणबाट अधिग्रहण गरिएको जमिन विकसित घडेरीको रुपमा फिर्ता गर्ने लक्ष्य राखिएको छ ।


  •  
  •  
  •