‘राजाले त्यागेको महल जस्तो भयो भीभीआइपी कक्ष’

171
  •  
  •  
  •  

काठमाडौं १९ माघ ।
काठमाडौंकसैले नसुनेको मीठो संगीतजस्तो वा दर्शक नपाएको भव्य चित्र जस्तो । वीर अस्पतालको अति विशिष्ट कक्ष र यसको भव्यता हेर्दा यस्तै लाग्छ । अस्पताल पुरै आलिसान छ । लाग्छ, विरामीको विस्तारा नभएर पाँचतारे होटलको महंगो सुइट हो यो ।

तर विरामी यो विच्छ्यौनाले महंगो उपकरण र विशेष व्यवस्था पाए पनि विरामी भने एउटै पाएको छैन । सर्वसाधारण जान मिल्दैन, विशिष्टहरु फर्किएर हेर्दैनन् । ‘सुइट यति भव्य छ’ निर्देशक स्वयं प्रकाश पण्डित भन्छन्, ‘तर विरामी कोही आउँदैनन्, राजाले त्यागेको महल जस्तो भयो यो ।’

निर्जनता कतिसम्म भने उपचार कक्ष पुग्नु दश मिटर परबाटै विच्छ्याइएको रातो कार्पेटमा कुनै दाग छैन, मानौं कार्पेट टेक्नका लागि नभएर प्रदर्शनीका लागि राखिएको छ । रङ्गीचङ्गी पर्दाले ढाकिएका प्यासेजका भित्ता वेदाग छन् । चालचलनमै नआएकाले ती जस्ताका तस्तै रहन पाएका अस्पतालका कर्मचारी बताउँछन् ।

कोठासंगै जोडिएको बाथरुममा नुहाउन बाथ टप, सावर केही पनि प्रयोगमा आउन पाएका छैनन्् । परिवारका सदस्य र सुरक्षाकर्मी बस्ने ठाउँको रोगन पनि विथोलिएको छैन । डाक्टर, नर्स, समकक्षी र कुटनीतिक व्यक्ति भेट्न आउँदा बस्ने छुट्टाछुट्टै कोठा, किचन पनि प्रयोगमा आएका छैनन् । एकातिर सर्वसाधारणका लागि खुला वीर अस्पतालका सामान्य कोठा फोहोर र अव्यवस्थित भएर पनि भीडभाडपूर्ण छन् । तर यसरी भव्य सुविधाले सज्जित अति बिशिष्ट कक्षका छ कोठा सबै साधनले युक्त भए पनि परित्यक्त र निर्जन छन् ।

राजतन्त्र रहुञ्जेल राज परिवारका लागि उपचार गर्न वीर अस्पतालमा छुट्टै कक्ष बनाइएको थियो । यस कक्षमा राजा महेन्द्र, बिरेन्द्र र रानी ऐश्वर्या लगायतले उपचार गराउने गर्थे । राज परिवारका सदस्यको शल्यक्रिया समेत त्यँही हुन्थ्यो । राजतन्त्र हटेपछि उक्त कक्ष बन्द थियो । गत मंसिरमा भएको सार्क शिखर सम्मेलनताका वीर अस्पताललाई सहायक अस्पतालका रुपमा राखिएकाले रातारात गरेर यसको व्यवस्थापन गरिएको कर्मचारीहरु बताउँछन् ।

‘लामो समयदेखि बन्द रहेको अति विशिष्ठ कक्ष्ालाई हाल आएर पुरै मर्मत गरिएको हो,’ निर्देशक पण्डितले भने, ‘अस्पतालमा अति विशिष्ठ कक्ष सञ्चालन गर्नेबारे सरकारको नीति तथा कार्यक्रममै परेको थियो । त्यसै अनुसार सार्क सम्मेलनलाई मध्येनजर गर्दै हतार/हतारमा अति बिशिष्ट कक्षको व्यवस्थापन गरेका हौं ।’

उनका अनुसार, सरकारको नीति तथा कार्यक्रममा परे पनि अर्थ मन्त्रालयले छुट्टै बजेट निकाशा नगरेका कारण अस्पतालको आन्तरिक स्रोतबाट खर्च गरिएको छ । रातारात अति विशिष्ठ कक्षको निर्माण गरेपनि हालसम्म एक जना पनि उपचार गराउनका नआएको उनको गुनासो छ ।

यस कक्षमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख लगायत पाँच व्यक्तिले मात्रै उपचार गराउन पाउनेछन् ।

त्यसबाहेक अस्पतालमा एउटा बिशिष्ठ कक्ष पनि छ । यसमा पूर्वमन्त्री, मन्त्री, सभासद्, नेताहरुले उपचार गराउन सक्ने भएपनि हालसम्म कुनै नेता, मन्त्री र सभासद् उपचारका लागि भर्ना भएनन् । केही समय अघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपचारका लागि बिशिष्ठ कक्षमा भर्ना भएपनि उनको आइसीयु कक्षमा राखी उपचार गर्नुपर्ने भएकाले तुरुन्त सारिएको निर्देशक पण्डित बताउँछन् ।

बेलाबेला राष्ट्रपति रामवरण यादब र उपराष्ट्रपति परमानन्द झा दाँत सफा गराउन वीरको ओपीडिमा आउने गरे पनि बिशिष्ठ कक्षमा भने भर्ना भएर उपचार गराएका छैनन् ।

सम्मेलनका अवसरमा वीर अस्पतालको अति बिशिष्ठ र बिशिष्ठ कक्षहरु तयारी अवस्थामा राख्न ०७१ असार २० मन्त्रीपरिषदबाट निर्णय गरिएको थियो । त्यसै अनुसार अति बिशिष्ठ कक्षको रंगरोगन, फर्निसिंङ, एसी जडान लगायत सम्पूर्ण कार्य गरिएको अस्पतालका खरिद इकाइका कर्मचारी टिका पनेरुले जानकारी दिए । उनका अनुसार अति बिशिष्ठ कक्षको मर्मत सम्हार, रङ रोगन, फर्निसिङ, एसी जडान र सिटि स्क्यानका लागि ३ वटा एसी गरी २३ लाख ५० हजार २ सय ४५ रुपैया खर्च भएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •