धनगढी बम विस्फोट : मृतक सिंह विप्लव समुहका लडाकू प्रशिक्षक भएको पुष्टि

99
  •  
  •  
  •  

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेट नजिकै बिहीबार साँझ भएको बम विस्फोट जंगलमा रहेको तालिम केन्द्रमा लैजाने क्रममा भएको खुलेको छ ।

घटनामा परी बिहीबार राति मृत्यु भएका विप्लवका कार्यकर्ता रामबहादुर सिंहले तालिम दिनका लागि बम बोकेर जाँदा बाटोमै विस्फोट भएको हो । सिंह विप्लव जनसेनाका प्रशिक्षक रहेको खुलेको छ ।

उनले कैलाली र कञ्चनपुर जिल्लाको बीचमा पर्ने पुर्नवास नजिकैको जंगलमा तीन दिनदेखि सैन्य तालिम दिँदै आएका थिए ।

प्रशिक्षकका लागि तालिम केन्द्रमा बम लैजाने क्रममा विस्फोट भएको जनाइएको छ । उनी डेढ वर्षअघि उक्त समूहले काठमाडौँमा गरेको जनसभाबाट पार्टीमा प्रवेश गरेका थिए ।

विप्लव समूहले घटनाको जिम्मेवारी लिँदै विस्फोटमा आफ्ना कार्यकर्ता रामहादुर सिंह ‘राजेश’ को मृत्यु भएको पुष्टि गरेको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टी कामको सिलसिलामा ‘आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको’ विज्ञप्तिमा उल्लेख छ ।

घटनामा परी घाइते भएका लक्ष्मण सेरेला पनि विप्लवका कार्यकर्ता भएको पुष्टि भएको छ । उनी तत्कालीन माओवादी लडाकु समायोजन हुने बेला पाँच लाख रुपैयाँ लिएर बहिरगमन भएका थिए ।


  •  
  •  
  •