चीनद्धारा बिप्पा र सुपुर्दगी सन्धीको औपचारिक प्रस्ताव

134
  •  
  •  
  •  

china-nepal-flagकाठमाडौं, ५ कात्तिक (ओएनएस) : उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको चीनको भ्रमणका क्रममा चीनले नेपालसँग बिप्पा सम्झौता र सुपुर्दगी सन्धी गर्न औपचारिक प्रस्ताव अघि सारेको छ ।

छलफलका क्रममा चीनियाँ पक्षले दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्नका लागि प्रस्ताव राखेको गृहमन्त्री गौतमले बताए । चीनले राखेको उक्त प्रस्तावबारे नेपालले विचार गर्ने जवाफ दिएको उनले बताए ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रीको निमन्त्रणामा गृहमन्त्री गौतम एक साता लामो चीन भ्रमणमा पुगेका थिए । चीनबाट फर्किने क्रममा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सुपुर्दगी सन्धीका लागि पनि चीनले प्रस्ताव राखेको उनले बताए । ‘चीनले विप्पा र सुपुर्दगी सन्धीको प्रस्ताव राखेकेा छ, हामीले सुपुर्दगी सन्धी सम्बन्धी ऐन बनाइसकेका छौं, यसमा आवश्यक गृहकार्य हुन्छ,’ गौतमले भने ।

नेपालले भारतसँग पहिले नै बिप्पा सम्झौता गरिसकेको छ ।

चीन सरकारले सशस्त्र प्रहरी बलको प्रतिष्ठान बनाउन आर्थिक र भौतिक सहयोग गर्ने, नेपाल प्रहरीको सञ्चार विकासमा पनि चीनले सघाउने इच्छा व्यक्त गरेको उनले जानकारी दिए ।
नेपालको एक चीन नीतिप्रति आफूले  चीनिया समकक्षी र कम्युनिस्ट पार्टीका नेताहरुलाई आफ्नो प्रतिबद्धता दोहोर्‍याएको उनले बताए । उनले चीनले नेपालमा स्थिरता र विकास चाहेको जानकारी दिए ।


  •  
  •  
  •