सरकारले विप्लवका गतिविधिमाथि बढायो उच्च निगरानी

७७ वटै जिल्लामा उच्च सतर्कता
314
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि उच्च निगरानी गरेको छ ।

गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरिसकेको छ ।

बैठकले प्रचलित कानूनअनुसार कारबाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्न थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन समेत दिएको उनको भनाइ छ ।

सरकारले यसअघि नै त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गर्ने निर्णय गरिसकेको छ ।

गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसूकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।
त्यसपछि हतियार फेला परेमा प्रचलित कानूनअनुसार कारवाही हुने जनाइएको छ ।

गएको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावर नजिक एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गराइएको बम विष्फोट तथा देशका दर्जनौँ ठाउँमा भएका विष्फोटमा समेत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नामको समूह संलग्न भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले शुक्रबार साँझ मात्र विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई  पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई शुक्रबार राति बालकुमारीस्थित उनकै डेराबाटै पक्राउ गरेको हो ।

 


  •  
  •  
  •