विप्लव समूहलाई ३५ दिनभित्र अवैध हतियार बुझाउन सूचना जारी

प्रत्यक्ष–अप्रत्यक्ष सघाउनेलाई पनि कारबाही
95
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको प्रष्ट पारेको छ ।

सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्म्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानून अनुसार कारबाही गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘त्यस समूहलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गर्न आवश्यक थियो । त्यही काम सरकारले गरेको छ ।’

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको जानकारी गराए ।

अवैध तथा दर्ता नभएका हातहतियार तथा खरजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन सकिने जानकारी गराए । तोकिएको अवधिमा हतियार तथा खरजना बुझाउनेलाई कुनै कारबाही गरिने छैन ।

यस्तै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारबाही गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १ सय ४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय समेत गरेको छ ।


  •  
  •  
  •