सरकारसँग भएका तीनबुँदे सहमति पालना गर्न प्रतिबद्ध छौँ : विप्लव

51
  •  
  •  
  •  


काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’
उनले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गरे । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उनले बताए ।
यस्तै उनले आफुहरु स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताए । उनले भने, ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ ।’ आजको सहमति सरकार नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार भएको उनले बताए ।

यस्तै उनले शहीदको चाहना पुरा नभएको बताए । यस्तै उनले नेपाली जनताका चाहना पूरा नभएको बताए ।

शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।

यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने भनिएको छ ।


  •  
  •  
  •