हत्याको बदला लिने विप्लव समूहको चेतावनी

297
  •  
  •  
  •  

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताइएको छ। विप्लव समूहका जनकपुर व्युरो इञ्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’

पौडेललाई दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । नेकपाले पौडेलको हत्या गैरन्यायिक भन्दै विरोध र भत्र्सना समेत गरेको छ ।

प्रहरीले भने दोहोरो हानाहानका क्रममा उनको मृत्यु भएको दाबी गरेको छ । प्रदेश दुई प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको जानकारी दिए । उनले उनीसँगै रहेका अन्य तीनजना भने भागेको जानकारी दिए ।


  •  
  •  
  •