विप्लवको आक्रमण प्रयासपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

293
  •  
  •  
  •  

काठमाडौं । सोलुखुम्बुको महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले बैठक नियमित भएको र सुरक्षाको समसामयिक विषयमा सुरक्षा प्रमुखले गृहमन्त्रीलाई रिपोर्टिङ गरेको बताए ।

आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास गरेको जनाइएको छ ।

आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएसँगै चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको थियो ।

आइतबार राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको बताइएको छ ।

चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको थियो ।

केही दिन अघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले उच्च सतर्कता अपनाएको थियो ।
स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौकीमा विप्लव समूहले आक्रमणको प्रयास गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

केन्द्र र प्रदेशबाट प्रहरी टोली त्यहाँ पठाइएको छ । आर्मीको टोली हेलिकप्टरसहित त्यस क्षेत्रमा गएको बताइए पनि नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पान्डेले भने अस्वीकार गरेका छन् ।

भोजपुरमा दुई साताअघि प्रहरी कारबाहीमा आफ्ना एक कार्यकर्ता मारिएपछि विप्लव समूहले सरकारलाई त्यसको कडा जवाफ दिने बताएको थियो ।

कार्यकर्ता मारिएको विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले त्यसको अघिल्लो दिन राजधानीका विभिन्न स्थानमा विस्फोटको प्रयास गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठक

विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेपछि सोमबार जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको छ ।  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको जानकारी दिए ।
बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।


  •  
  •  
  •