विप्लव समुहको दलित मुक्ति मोर्चाका जिल्ला संयोजक धरौटीमा रिहा

85
  •  
  •  
  •  

पर्वत, ११ वैशाख(ओएनएस) : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा छुटेका छन् ।

राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीबाट १७ गएको चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्यविरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजालसले उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


  •  
  •  
  •