विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित

382
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ को बन्दका कारण उपत्यकासहित देशभर फाट्टफुट्ट मात्र गाडी चलेका छन् ।

बिहीबार बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।

यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मी भने सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
यसैबीच पाल्पाको रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको जनाइएको छ ।

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसैबीच विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए ।

यसैगरी मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए ।

तीनजनाको समूहले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै नवलपरासीको कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको आर जे ०२ जिबि २८७० नम्बरको ट्रकमा अज्ञात समुहले आगजनी भएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको सुरही खोला नजिकै ना६ख ८०५९ नम्बरको ट्रकमा बन्दकर्ताले सुतली बम प्रहार गरेका छन् ।

त्यस्तै बन्दकर्ताले पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको कोहलपुर, मोरङको बेलवारी लगायतका स्थानमा राखेको प्रेसरकुकर बम सेनाले निस्कृय बनाएको छ ।

त्यस्तै बाग्लुङ नगरपालिका तीन शिवधारा चोक, हेटौडा उपमहानगरपालिका ३ को वडा कार्यालय अगाडी र अर्घाखाँचीको सन्धिखर्क २ चुत्रावेशीमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

सरकारले लगाएको प्रतिबन्धको विरोध, पक्राउ परेका पार्टीका नेता कार्यकर्ताको रिहाइ, झूट्टा मुद्दा खारेजीलगायत मागसहित नेकपाले बन्दको आब्हान गरेको हो ।


  •  
  •  
  •