विप्लव समूहका नेता ‘सुदर्शन’लाई हाजिर गराउन सर्वोच्चको निर्देशन

407
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।

वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
रिटमा गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर ललितपुर र परिसर प्रमुख जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रमुख, ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वली चैत ९ गते शुक्रबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित ९ जनालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।

वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।
विपनाले दायर गरेको रिटमा बुवा ओली र लोकेन्द्र खड्काको रिहाईको माग गरिएको छ । रिटमा नेपालको संविधानको धारा ४६, धारा १३३ (३), सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, नियम ३७ बमोजिम आदेश जारीको लागि माग गरिएको छ ।


  •  
  •  
  •