विप्लवका सात जिल्ला नेता चितवनबाट पक्राउ

548
  •  
  •  
  •  

चितवन १३ चैत(ओएनएस) : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सात जिल्ला नेतालाई चितवनबाट पक्राउ गरेको छ ।

फाइल तस्बिर

उनीहरुमध्ये ६ जनाको म्याद थप गरिएको छ भने एकजनालाई बुधबार बिहान मात्र पक्राउ गरेको छ ।  फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी संघका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

बुधबार बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताए ।

भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा विप्लव समूहका नेताको खोजी भइरहेको बताए ।


  •  
  •  
  •