विप्लव समूह र प्रहरीबीच गोली हानाहान

चार नेता कार्यकर्ता पक्राउ
1026
  •  
  •  
  •  

अछाम, १३ चैत(ओएनएस) : अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी भुमिसरा धामी र युवा संगठनका राजेन्द्र धामी रहेका छन् ।
रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मंगलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । सो क्रममा पाँच जना भागेका र चारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका डोटी इन्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्नो समूहका केही व्यक्तिलाई पक्राउ गरेको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त भएको र आफ्नो तर्फबाट सात राउण्ड फायर भएको बताएको छ । त्यस्तै प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ ।

प्रहरीसँगको मुठभेडपछि भागेका पाँच कार्यकर्ता तथा उनीहरुसँग भएको हतियार खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । अछाममा अहिले प्रहरी सुरक्षा कडा पारिएको बताइएको छ ।


  •  
  •  
  •