‘विप्लव’ समूहसँग वार्ता र संवादबाट समस्याको समाधान हुन्छ : वरिष्ठ नेता नेपाल

212
  •  
  •  
  •  

चितवन, १२ चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’ समूहसँग वार्ता र संवादबाट समस्याको समाधान गरिने स्पष्ट पारेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लगानी सम्मेलनको तयारी गरिएको समयमा लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर सम्मेलन सफल नहुने बताए ।

उनले यस्तो बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै त्रास र आतकंमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए ।

चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको समेत उनले बताए ।
उनले भने, ‘नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।’

नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको समेत बताए ।

राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ छ ।
राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे ।

उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो ।

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने, ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।’ वि.संं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको समेत उनले बताए ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याकंन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।


  •  
  •  
  •