विप्लव समूहका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पक्राउ

351
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई आइतबार राति मोरङबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई सोमबार सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्षसमेत हुन् ।

यसअघि शुक्रबार रातिमात्र काभ्रेबाट उक्त समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शन सहित नौ जना पक्राउलाई प्रहरी पक्राउ गरिसकेको छ ।

नेता वलीसँगै नेकपाका कार्यकर्ताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायत पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिसकेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकता भूमिगत भएका छन् । हतियारसहित देखा परेको अवस्थामा गोली प्रहार गर्न समेत सुरक्षाकर्मीलाई सरकारले आदेश दिइसकेको छ ।

यो पनि हेर्नुहोस्

विप्लव समूहका हेमन्तसहित ९ जनाविरुद्ध मुद्दा दर्ता


  •  
  •  
  •