घोडाघोडीका मेयर चौधरीमाथिको आक्रमणमा हाम्रो संलग्नता छैनः विप्लव

336
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणमा हाम्रो पार्टीको कुनै संलग्नता नभएको जनाएको छ।

मेयर चौधरीको आक्रमणमा हाम्रो पार्टीका कुनै पनि कार्यकर्ताको संलग्नता नरहेको विप्लव कैलालीका जिल्ला सचिवालय सदस्य विनोद विष्टले बताए। उनले भने,‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहारको घटना सुनियोजित हो,’

पार्टीले नगर प्रमुख चौधरीमाथि कारबाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भए पनि पार्टीको जनकारबाहीमा हतियारले आक्रमण गर्ने कारबाही नभएको उनले दाबी गरे।

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ। राति घरमै सुतिरहेको अवस्थामा नगर सेक्रेटरी भरत शाह, राष्ट्रिय युवा जनस्वंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), र टीकापुर जिल्ला सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनलाई कोहलपुरबाट आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं लगिएको कोहलपुर अस्पतालले जनाएको छ।

घरमै बसिरहेका बेला सोमबार साँझ नगर प्रमुख चौधरीमाथि आक्रमण भएको थियो। गत फागुन २४ गते घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ।


  •  
  •  
  •