‘कति बन्दुक लुकाइएको छ ? ’ प्रचण्डलाई सोध्नुपर्छ

335
  •  
  •  
  •  

biplab new parrty1नयाँ क्रान्तिको उद्घोषसहित नेत्रबिक्रम चन्द विप्लवले ‘नेकपा माओवादी’ नाम राख्दै नयाँ पार्टीको घोषणा सोमबार गरे । राजधानीको राष्ट्रिय नाचघरको हलमा भएको घोषणा सभामा पाटीका संयोजक विप्लवले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले जनताको एजेण्डाले छोडेकोले बलिदान दिन तयार रहेको बताएका थिए । नयाँ क्रान्तिको स्वरुप र पार्टीका एजेण्डाबारे विप्लवलाई नाचघरमा उपस्थित पत्रकारहरुले बिभिन्न प्रश्नहरु गरेका थिए । प्रस्तुत छ, उक्त प्रश्नोत्तरको सम्पादित अंश ।

तपाईहरुले अबको दिनमा गर्ने संघर्षको स्वरुप कस्तो हुन्छ ?
संघर्षको स्वरुप जनताको जनादेशअनुसार अगाडि जान्छ । संघर्षको कुनै सीमा हुँदैन । यति कुरा बुझिराख्नपर्छ । संघर्ष हुँदै हुँदैन भयो भने त्यसको सीमा हुँदैन । यहि मात्र म भन्दिन । रत्नपार्कमा गएर मसाल बालेर घर गएर सुत्ने कुरा मात्र हुन्छ कि हुन्न भन्न सकिन्न । त्यो राज्यको रबैयामा भरपर्छ ।

तपाईलाई माउ पार्टी माओवादीले दक्षिणपन्थी अवसरवाद उन्मुख भन्ने आरोप लगाएको छ, के भन्नुहुन्छ यसमा ?
दक्षिणपन्थी के वादी भन्ने छ भन्ने सुनियो । मैले त त्यो राम्रोसँग हेर्न पनि पाएको छैन । मैले के भनेको छु भने किरण दाइ, बादल कमरेडहरु इतिहासको सम्मानित व्यक्तित्वहरु हुन्नुहुन्छ । तर, समय बलबान हुन्छ । लेनिनले भन्नुहुन्थ्यो, हिजो क्रान्ति हुन सक्थ्यो तर, आज हुँदैन । अक्टोबर क्रान्तिमा लेनिन भन्नुभो, आज हुनसक्छ, भोलि सक्दैन । जो नेताले त्यसलाई बुझ्न सक्छ, त्यसले लगाएको आरोप ठिकै हुन्छ । जसले त्यो बुझ्नै सक्दैन, त्यसले लगाएको आरोपको अर्थ छैन ।

तपाईहरुले प्रेसिर गरेको बिज्ञप्ति र तपाईको आक्रमक शैलीको भाषणबीच तालमेल मिलो जस्तो लाग्दैन । सर्वपक्षीय राजनीतिक सभाको माग गर्नुभएको छ । यस्ता मागहरु सडकबाट वा सदनबाटै दबाव दिएपछि पूरा होला । सडकमा जाने प्रष्ट छैन । मूलधारको राजनीतिमा पनि हुनुुहुन्न । माग पूरा गराउन कसरी दबाब दिनुनुहुन्छ ?

यही टेबलबाट हल हुँदैन र ? भन्ने सवाल छ । हुनसक्छ । तर, टुप्पी टुप्पीमा हिँड्ने, टुप्पा टुप्पा नाप्ने वार्ताको कुनै औचित्य छैन । रिसोर्ट र होटल धाउने अनि २–४ हजार सिध्याउने, मीठो मीठो खाने वार्ताको कुनै औचित्य छैन । एउटा सुकुम्बासीको जीवनबारे वार्ता हामीलाई चाहिन्छ । त्यसका लागि तयार छौं । हामीले प्रस्तावमा अघि सारेका छौ, नेपाली जनताको जीवनसँग जोडिएको विषयमा वार्ता होस्, राज्यको समग्र क्षेत्रमा वार्ता होस् छलफल गर्न तयार छौ ।

प्रचण्डको भनाई अनुसार अनि आमबुझाईमा शान्ति प्रक्रियाको हिरो गिरिजाप्रसाद कोइरालाई मान्निछ । तर, शान्ति प्रक्रियाको नाममा माओवादीलाई फसाइयो भन्नु भो । के गिरिजाप्रसाद हिरो हुन् कि भिलेन ?
माओवादीसँग विश्वासका साथ काम गर्दा उहाँ हिरो नै हो । तर, माओवादीलाई फसाएर एक्लै जान कांग्रेसले सोच्दै छ, त्यहाँ चै जिरो नै हुने निश्चित छ । कांग्रेस एक्लै जान पाउदैन । कांग्रेस माओवादीसँग बाँधिएको छ । माओवादीसँग बाँधिनुको अर्थ नेपाली जनतासँग बाँधिनु हो । नेपालका युद्धका एजेण्डा, प्रस्तावहरुसँग बाँधिनु हो । त्यसलाई छाडेर कांग्रेस एक्लै जान खोजेको छ, त्यो सम्भव छैन । त्यसले इतिहासको पुनर्समिक्षा माग गर्छ । त्यो स्थिति नआओस् हामी भनिराखेका छौ ।

तपाईको पुस्तक एकीकृत क्रान्तिमा मध्यम वर्गिय जनतालाई गोलबद्ध गरेर त्यसैलाई आधार बनाएर क्रान्ति गर्ने भन्नु भएको छ । मध्यम वर्ग जोखिम लिन डराउने र डुलमुले हुन्छन् । अनि तपाईको भाषण अनुसार बन्दुकको जवाफ बन्दुकले दिन तयार छौं भन्ने स्पष्ट बुझिन्छ । जोखिम मोल्न डराउने मध्यम वर्गले हतियारसहिको क्रान्तिमा आधार बन्न कसरी सक्छ ?
मैले विश्लेषण अघि सारेको छु, अबको नेपालको मात्र होइन विश्वको क्रान्तिमा मजदुर किसान सगसँगै मध्यमवर्गको सहभागिता अनिवार्य छ । मध्यम वर्ग ढुलमुल हुन्छ तर, प्रतिक्रियावादी वर्ग होइन । सत्तासँग मिलेर जनतालाई दमन गर्ने वर्ग होइन, बरु प्रगति र परिवर्तनको पक्षमा आउने प्रगतीशील वर्ग हो ।

डक्टर, इन्जिनियर, वकिल, प्रोफेसर, व्यापारी, मध्यमवर्गका मान्छेहरु सबैलाई क्रान्ति गर्नको लागि घनिष्ठ मित्रशक्तिका रुपमा लिनुपर्छ । मध्यम वर्गको नेपाल जस्तो देशमा आवश्यक छ । मध्यम वर्ग बन्दुक नै बोक्न आउँछ कि आउँदैन भन्नेमा हामीले बन्दुक बोकीहाल्ने कुरा गरेका छैनौं । हाम्रो काँधमा बन्दुक छैन, तपाईले त्यहाँ पुर्‍याइहाल्नु भयो । त्यसैले मध्यमवर्गका साथीहरु आजैबाट तरंगित भएर ओहो † भन्ने नबनाइदिनुस् ।

बन्दुक भनेको साधन हो । जब तपाई सत्ताको बिरुद्धमा असन्तुष्ट हुनुहुन्छ । प्रतिवाद गर्नुहुन्छ, संघर्षमा उत्रिनुहुन्छ त्यो पनि बन्दुकजस्तै कुरा हो । त्यो बन्दुक भन्दा कमजोर होइन । नागरिकहरु सत्ताको बिरुद्धमा उत्रनु भनेको बन्दुक जस्तै कुरा हो । भौतिक वस्तु त कहिले काँही प्रयोग हुन्छ, कहिलेकाही नहुन पनि सक्छ । त्यसैले मध्यम वर्ग आजको क्रान्तिको एउटा महत्वपूर्ण आवश्यक घनिष्ठ मित्र हो ।

biplab new parrty2

तपाईले शान्ति प्रक्रियापछि सबैभन्दा बढि दोषी कांग्रेस–एमालेलाई देख्नुभयो । तर तपाईलाई यो लाग्दैन की सबैबढी दोषी तपाईको आफ्नै पार्टी माओवादीका नेताहरु थिए भनेर ?
कांग्रेस, एमालेका केही साथीहरुलाई भेट्दा के भन्नुहुन्छ भने तपाईहरुले भनेको त ठीकै हो तर, प्रचण्ड बाबुराम लड्नै सकेनन् भन्नुहुन्छ । प्रचण्ड र बाबुरामले लड्ने नलड्नेसँग माओवादीको के सरोकार । नेता हुँदा लड्नुपर्छ सही हो । तर, यीनी लडेनन्, त्यसैले सबै हसुरिहालु, खाइदिइहालौं भनेर कांग्रेसएमालेले पनि सोच्नु हुन्न ।
यहाँ त जनता छन् ।

माओवादी भनेको व्यक्ति मात्र होइन । प्रवृत्ति हो । धारा हो । एकछाक खान नपाउनेदेखि नेपाललाई माया गर्नेहरुको धारा हो । तपाईले २–४ जना नेतालाई त किनिहालियो, तानिहालियो अब जे गरे पनि हुन्छ भनेर सिंगै माओवादीसँग व्यवहार गर्न खोज्नु भो भने अर्को माओवादी चिहानबाट उठेर आउँछ ।  यो हाम्रो हकमा पनि हो । हामीले गल्ती गर्‍यौं भने नेपालको माओवादी आन्दोलन यहीँ सकिन्छ भने कुरा सत्य होइन । यो फेरि इतिहासको ठुला–ठुला भग्नावषेबाट उठेर आउछ । यसर्थमा कांग्रेस एमाले पनि त्यत्तिकै जिम्मेवार हुनुपथ्र्याे । शान्ति प्रक्रियामा उनीहरु आफै पनि त्यत्तिकै जिम्मवारै हुनुपर्छ ।

सहअस्तित्व, सहमति र सहकार्यको मान्यता अनुसार सत्ता साझेदारीको कुरा गर्नुभएको छ । कस्तो सत्ता साझेदारी खोज्नु भएको हो, प्रस्ट पारिदिनुहोस् ?
यही भने वापत कहिलेकाही पार्टीमा मेरो आलोचना हुनेगर्छ । कहिले भन्दिए हुन्छ भन्ने पनि आउँछ । यो दुईवटै हुन्छ । यो कुरा पालुङटारमा भनिएको हो । यो संसारभरि विद्रोहि शक्ति र राज्यपक्षले मानेको, स्वीकार गरेको सिद्धान्त हो । जुन देशमा राज्य हुन्छ र त्यसको बिद्रोह हुन्छ । त्यसको ब्यवस्थापन गर्दा दुबैको सहअस्तित्व स्वीकार नगरेसम्म शान्ति प्रक्रिाया अघि आउदैन ।

राज्यले बिद्रोहीलाई स्वीकार गर्ने भनेको मान्छेलाई होइन । त्यसको सहभागिता र राज्यमा खेल्ने भूमिका भनेको हो । साझेदारी भनेको विद्रोही पक्षले पनि त्यतिकै अधिकार पाउनुपर्छ जति राज्य पक्षले पाउँछ । त्यो नीति निर्माण गर्ने ठाउँमा, लागु गर्ने ठाउँमा , अनुगमन गर्ने ठाउँमा । समग्र क्षेत्रमा बराबर अधिकार पायो भने त्यो शान्ति सफल हुन्छ अघि बढ्छ ।

जब सबै क्षेत्रमा सबैको सहअस्तित्व हुन्छ । अनि शान्ति प्रक्रिया सफल हुन्छ । एउटाले अर्कोलाई खाइदिन्छु, हड्प्छु, सिध्याइदिन्छु भन्ने तिरबाट सोचियो भने शान्ति प्रक्रिया कहिले पनि सफल हुँदैन । नेपालमा माओवादीलाई वार्तामा ल्याइयो, स्वीकार त गयिरयो तर, कार्यान्वयनमा जाँदा एक्ल्याउने खेल चलिरहेको छ । यो सहअस्तित्व, सहकार्य र साझेदारी सिद्धान्तको विपरीत छ । यो संक्रमणकाली सिद्धान्तको बिपरित छ । यो कुरा माओवादीले कदापी मान्न सक्दैन । त्यसैले हामीले प्रस्ताव गरेको के हो भने समग्र शान्ति प्रक्रिायाको समीक्षा हुनुपर्छ । माओवादीसँग सेना थियो, सत्ता, प्रशासन र अदालत थियो । यो कुरालाई पहिला सहमतिमा आउने शक्तिले स्वीकार गर्नुपर्छ । अहिले त छैन भन्ने हो भन्ने प्रश्न आयो भने मैले के जवाफ दिने गरेको छु भने – कति दिनमा तपाईलाई देखाइदिनुपर्‍यो ?

हामी तयार नै छौं नि । अर्को चर्चा पनि छ विप्लवले दुई चार दिन डाङडुङ पार्ने । अनि फेरि वार्ता गरेर सत्तामा जाने भन्ने छ । त्यो किमार्थ होइन । हामीले के प्रण गरेका छौ भने यो देशमा हुने हरेक छलफलले नेताको कुरा होइन, जनताको एजेण्डा लिएर जानुपर्छ । यसमा तपाईहरु ढुक्क भए हुन्छ । सत्ता हाम्रो सरोकारको विषय रहने छैन ।

बन्दुक खोसेर विद्रोह गर्ने हो भनेर बिश्लेषकहरु भन्छन् । तर, विप्लवसँग लुकाइएका बन्दुक छन्, त्यसले संघर्ष गर्न सक्दैन भन्ने पनि सुनियो । कति बन्दुक लुकाइएको छ र कति लुकाइएको छ ?
बन्दुक कति लुकाइएको छ भन्ने कुरा प्रचण्डलाई सोध्नुपर्छ । प्रचण्डजीले के भन्नुभएको छ भने सबै बन्दुक बुझाइक्यौं । त्यसकारण यो प्रश्न मलाई सोध्ने होइन । तर, बन्दुक छ कि छैन भन्दा यहाँ (दिमाखमा देखाउँदै) बन्दुक भयो भने जतिखेर पनि बन्दुक आउँछ । मान्छेको दिमागमा बन्दुक चढ्यो भने जतिखेर पनि आइपुग्छ । अहिलेको विश्वमा त्यसको अभाव महसुस नगर्नुस् ।

धमेन्द्र बास्तोलाले प्रधान दुष्मन कांग्रेस हो भन्नुभएको छ, कम्युनिष्टका लागि प्रधान दुश्मन संघर्षको पहिलो आधार बन्छ । के तपाईहरुले कांग्रेसलाई प्रधान दुष्मन घोषणा गरिसकेको, पहिचान गरिसक्नु भएको हो ?
एउटा सन्दर्भमा धर्मेन्द्र कमरेडले भन्नुभएको हो । एक हिसावले सही हो । तर, आजको सन्दर्भमा जनताको दुश्मन दलाल पूँजीवादी राज्यसत्ता हो । यो पार्टी त्यो पार्टीभन्दा पनि काग्रेसभित्र बढी देखिन्छ । बाँकी धेरै पार्टीमा यो प्रवृत्ति छ । कांग्रेसभित्र पनि सच्चा प्रजातन्त्रवादी छन् । यसलाई हामीले राम्रोसँग पहिचान गर्नुपर्छ ।
तर प्रवृत्तिका हिसाबले आजको प्रधान शत्रु भनेको विदेशीको आडमा नेपाली जनतामाथि विदेशीले इच्छाएको व्यवस्था लाद्न चाहने प्रवृत्ति हो । त्यससँग जनताले प्रतिरोध गर्नुपर्छ ।

संघर्षको स्वरुप कुन क्षेत्र केन्द्रित हुन्छ ?
यो सबै हुन्छ । एउटा गाउँमा मात्र लड्ने, काठमाडौंमा नलड्ने वा काठमाडौंमा मात्र लड्ने, गाउँमा नलड्ने, यस्तो हुँदैन । अहिलेको नेपालको सन्दर्भमा राजनीतिक निर्णयहरुबाट गाउँका जनतामात्र उत्पीडित छैनन् । आजको संसदवादी दलहरुले गरेका निर्णय र विदेशीको उत्साहटको मारमा सहरका नागरिक पनि छन् । त्यसको मार किसान मात्र होइन, बुद्धिमात्र होइन मध्यमवर्ग, राष्ट्रवादीहरु, राष्ट्रिय पुजीपती वर्ग पनि छन् । सबैलाई एकतावद्ध गरेर लड्ने आजको संघर्षको स्वरुप हुनेछ । एक स्थानमा मात्र लाड्ने हामीले सोचेका छैनौ ।

Moist

तपाईले एकपटक आवश्यक पर्‍यो भने ‘रअ’ मात्रै के, सबैसँग उठबस गर्न तयार छौं भन्नुभएको थियो । आजकल कत्तिको उठबस छ ?
नेपालमा रमाइलो कुरा के छ भने जो रअ को मान्छे हुन्छ, उसले नै अरुलाई ‘रअ’को मान्छे भन्दै हिँड्छ यो बडो आनन्दको कुरा छ ।

प्रचन्डसँग छुट्टिएको २ बर्षपछि फेरि पार्टी बिभाजन गर्नुभयो । अब फेरि माओवादी कहिले फुट्दैन फेरि एकताबद्ध हुन्छ भन्नु भएको छ , यसको आधार के छ ?
हाम्रो केन्द्रिय समितिको बैठक गत साता चितवनमा बस्यो जहाँ जनयुद्धपछिको पहिलो पटक नयाँ शब्द सुन्न पाइयो । बैठकमा सहभागि कम्रेडहरुले एक स्वरले भन्नु भएको छ , ’हामी नेपाली जनताको लागि पार्टीले खटाएको जिम्मामा जहा पनि जान तयार छौ ।’ हामीले पार्टीले दिएको जिम्मेवारीको लागि लड्न तयार छौ भन्ने कम्रेडहरुको समिति बनाएका छौ । हामीले जुन एजेन्डा अघि सारेका छौ, हामीलाई के आत्मविश्वास छ भने माओवादी अब अगाडी बढ्छ । ध्रुबीकृत, केन्द्रिकृत गर्दै अघि बढ्छ । जसले बिशाल भेल खडा गर्छ भन्ने हाम्रो विश्वास छ ।

हिजो ध्वंसपछि निर्माण भन्दै निर्माण भन्दै जनयुद्धमा जानुभएको थियो , युद्धबाट फर्केपछि केहि निर्माण भएको छ ब्यक्तिगत रुपमा । अब ध्वंसपछि निर्माण हुन्छ कि निर्माण र ध्वसंसगै हुन्छ ?
(हाँस्दै) पत्रकारहरुले पनि पत्रकारको शब्द सिकिसक्नु भयो । यो परिवर्तन हुन्छ । बानी पऱ्यो भने देश बदलिन्छ भनेको यहि हो । ध्वंस र निर्माण कसरि हुन्छ भन्दा यसरी नै हुन्छ । सबैले यसरी सिक्दै गयो भने ध्वंस पनि सँगै हुन्छ निर्माण पनि सँगै हुन्छ । यो साँचो कुरा पनि हो । युद्धको बेला मोटरबाटो खन्ने पार्टी माओवादी हो । आकाशमा हेलिकप्टर नाप्ने, कैचीले पहाड फोड्ने हामी नै हौ । हामी नै हो जसले युद्धभित्र कम्युन बनाएर सामुदिक जीवन बिताउने हो । हामी हो, सहकारि खोलेर आर्थिकस्तर माथि उकास्ने पनि हामी हौ । एउटा पत्रिकाले लेखेको पनि थियो जनयुद्धपछि रोल्पाको जीवनस्तर आर्थिक दृष्टिले बढि उठ्यो । त्यसैले ध्वंस र निर्माण सँगै जाने कुरा हो । कोहि पनि आत्तिनु पर्दैन । हामीले यसरी नै अघि बढ्नु पर्छ । ध्वंस भनेको अरु कुरा होइन, पुराना मान्यता, कानुन, विचार, संस्कार, सत्तालाई फेर्ने कुरा हो ।

वर्ग परिवर्तनको लागि जनयुद्ध गरेकाहरुले आफै वर्ग परिवर्तन गरेका छन् । अब उनीहरुसँग तपाईको सम्बन्ध कस्तो हुन्छ ?
जहाँसम्म वर्ग परिवर्तन भएको माओवादीसँग कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा छ , यसमा मेरो धेरै कुरा छैन । यो हाम्रो कुरा नभई जनतासँग सम्बन्धित कुरा हो । जनमुक्ती सेनाको ४ अर्ब पैसा खोई भन्ने अधिकार जनतालाई छ । अनि माओवादी पार्टीको नाममा जम्मा भएको अरबौ र करोडौ सम्पत्ति खोइ भन्ने कुरा जनतालाई रहन्छ । माओवादी अर्काे भएको कारणले होइन की व्यवहारको कारणले , जिम्मेवारीबाट बिचलित भएको कारणले यो प्रश्न उठ्छ । प्रचन्ड कम्रेड वा किरण कम्रेड वा अरु कुनै कम्रेडलाई पार्टीमा लागेको बापत यो प्रश्न होइन । प्रश्न के हो भन जनतासँग प्रण, प्रतिबद्धता गरेर आएर नीजि स्वार्थको निम्ति जनताको सम्पत्ति कुम्ल्याउन पाइदैन भन्ने हो ।


  •  
  •  
  •