विप्लव माअाेवादीले घोषणा गरेकाे नेपाल बन्द फिर्ता

249
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ । विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारी भएका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ भएको बताउँदै बन्द फिर्ता लिइएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भनिएको छ, ‘भ्रष्टाचारको विरोधस्वरुप गत चैत ६ गतेका दिन राधेश पन्तको निवासमा गरिएको विरोध कार्यक्रम सकिइ फर्कने हाम्रा पार्टीका नेता एवं पूर्व सभासद् असारे काका, पूर्व मन्त्री पदम राई लगायतका गिरफ्तारीपछि बाध्य भई यही चैत १८ गते नेपाल बन्दसम्मको संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य भएका थियौं । तर, प्रशासनले असारे काका लगायतका नेता र कार्यकर्याहरुलाई छोड्न बाध्य भएको छ । त्यसैले नेपाल बन्दसँग सम्बन्धित कार्यक्रमहरु अहिलेका लागि फिर्ता लिएका छौं ।’

यसअघि, लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालो झण्डा गाडेर फर्कने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका दुई दर्जन कार्यकता पक्राउ परेका थिए । बाँसबारीस्थित पन्तको निवासमा कालो झण्डा झण्डा गाडेर क्रममा उनीहरुलाई प्रहरी पक्राउ गरेको थिए ।

माओवादीले माथिल्लो कर्णाली लगायतका जलविद्युत आयोजना सम्झौता राष्ट्रघाती भएको बताउँदै उक्त आयोजनामा हस्ताक्षर गरेकोले पन्तको निवासमा कालो झण्डा गाडेको थियो । माओवादीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिने सम्झौता नेपालको हितमा नरहेको बताउँदै आएको छ ।

Biplav


  •  
  •  
  •