विप्लव माओवादीले गर्‍यो नेपाल बन्दको घोषणा

213
  •  
  •  
  •  

काठमाडौँ, ८ चैत (ओएनएस)  : आफ्ना दुई पोलिटब्यूरो पक्राउ परेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोण सभा र चोक सभा चैत १० गते माइकिंग र चोक सभा ११, १२, १३ र १४ गते प्रचार प्रसार १५ गते जीएमआर कार्यालय घेराउ १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ १७ गते मसाल जुलुस र १८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

शुक्रबार शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गरी सरकारले आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना कार्यकर्ता गिरफ्तार गरेपछि आक्रोशित बनेको माओवादीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा बास्तोलाले अबका दिनका संघर्षमा राधेस पन्तको घरमा मात्र हैन प्रधानमन्त्रीको घरमा समेत कालो झण्डा गाड्ने चेतावनी दिए ।

माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक राधेस पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।

सोही कार्यक्रमबाट प्रहरीले पूर्वमन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका) लाई गिरफ्तार गरेको थियो ।

उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले सुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्न माग गर्दै देश ब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


  •  
  •  
  •