बिप्लवले समानान्तर सरकार गठन गर्ने

319
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक । नेकपा-माओवादीको नेत्रविक्रम चन्द समूहले देशभर समानान्तर सरकार गठन गर्ने निर्णय गरेको छ । कपिलवस्तुको पश्चिम सिमाना जंगलमा भएको दुई दिने ‘केन्द्रीय अन्तर्क्रिया’ ले पहिलो चरणमा देशभर समानान्तर सरकार गठन गर्ने तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।’नयाँ सत्ताको स्वरुप घोषणा गर्ने निश्कर्ष छ,’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने । उनले सशस्त्र संघर्षका लागि ‘आवश्यक’ तयारी थाल्ने निर्णय पनि गरेको बताए, ‘तयारी पुगेपछि सशस्त्र संघर्ष सुरु हुन्छ । अहिले पहिलो चरणको तयारीको काम हुनेछ ।’ भेला शनिबार सकिएको थियो । भेलाको निश्कर्ष लिएर नेता कार्यकर्ता कार्यक्षेत्र फर्किसकेका छन् ।

उनका अनुसार एक सय ५१ मध्ये करिब ८० केन्द्रीय सदस्य सहभागी भएको भेलामा करिब साढे चार सय सहभागी थिए । हाल सचिव रहेका चन्दको नेतृत्वमा अघि बढ्ने निर्णय पनि भेलाले गरेको छ । जंगलमा कार्यक्रम किन गरेको भन्ने प्रश्नमा ती नेताले भने, ‘युद्धको सुरुवाति चरणको स्मरण गर्न जंगलमा कार्यक्रम भएको हो ।’ भेलामा चन्दले यसअघि पेश भएको जनविद्रोह गर्ने दस्ताबेजलाई परिमार्जन गरेर प्रस्तुत गरेका थिए ।

माओवादी भेलाले सरकारले आफ्नो समूहमाथि निगरानी राखेको भन्दै त्यसको प्रतिवादको तयारी गर्न निर्देशन भएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •