काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जाने भएका हुन् ।
यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनकाे रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । परराष्ट्रमन्त्री साउदले बुधबार महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० मा सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।