काठमाडौं । केही दिन अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा–माओवादीको सचिवकै हैसियतमा थिए । तर, मोहन वैद्य ‘किरण’सँगको मतभेद चरम मनभेदमा पुगिसकेको थियो । त्यसैले कपिलवस्तुको अनकण्टार जंगलमा अलग्गै चुलो बाल्न पुगेका थिए विप्लव । त्यही शिलसिलामा उनीसहितको समुहले बुधवार राजधानी छाडेको छ ।
यता विप्लवपत्नी शोभा मल्ल कपालमा कालो मेहन्दी लगाउँदै थिइन् । छोरी सञ्जु चन्द मोबाइल खेलाएर बसेकी थिइन् । तर, मेहन्दी र मोबाइलले मात्रै उनीहरुलाई भुलाउन सकेको थिएन । अर्थात्, उनीहरुको मन बहलाउन ती शृंगार प्रशाधन र ग्याजेटहरु अपर्याप्त थिए । उनीहरुको चिन्ता थियो, विप्लवको एकाग्रता र एकाकीपन । विप्लवले कतै फेरि वनवास रोज्ने पो हुन् कि भन्ने चिन्ता थियो सायद ।
विप्लव परिवारलाई थाहा छ, वनवास कति पीडादायी हुन्छ भनेर । कति जंघार तर्नुपर्छ ? कति भदौरे भेलमा होमिनुपर्छ ? कतिको खप्की खानुपर्छ ? कतिलाई सम्झाउनुपर्छ ? कतिको नजरमा थालचोर र बटुकाचोरको छवि लिएर हिँड्नुपर्छ । उनीहरुलाई थाहा छ, निर्दोष बालबच्चा, तिनका अभिभावक वा सम्पूर्ण जीविकाको सहारा बनेका सन्तानलाई बलि(–दान) दिइएपछि खाली हात परिवारसामु उभिनुपर्दाको लाचारी । उनीहरुलाई थाहा छ, चौबीसै घन्टा बन्दुकको नाल निधारमा सोझिँदाको सन्त्रास । जीवनको सर्वाधिक उर्बर र ऊर्जाशील उमेर विप्लव दम्पत्तिको यस्तैमा बित्यो । ती कष्टहरुको शृंखला आज सम्झँदै पनि छातीमा राँको बल्दो हो, पक्कै ।
आज विप्लव दम्पत्तिको स्वास्थ्य रोगी छ । सन्तानको आफ्नै संसार छ । पत्नीको स्याहार पतिले, पतिको स्याहार पत्नीले नगरी धरै छैन । अग्रपंक्तिमा रहेका माओवादी नेताहरुमा उमेरले सबैभन्दा युवा किन नहुन् उनी ?
पत्नीलाई काठमाडौँ बसाइँ यस्तो लागेको थियो, लामो यात्राबाट थाकेर गन्तव्यमा पुगेपछिको उच्छ्वासको सास फेर्ने बेला यही हो । गणतन्त्र घोषणापछि उनी प्रायः भन्थिन्, ‘पुग्नुपर्ने ठाउँ आइपुगियो ।’ पक्कै लाग्यो हो, अब त्यो कठिन यात्रामा होमिनुपर्ने छैन ।
भूमिगतकालमै पनि विप्लवले त्यस्तो अत्याचारपूर्ण र अमानवीय तरिकाले गैरसैनिक आमनागरिकमाथि प्रत्यक्ष धाबा बोलेका होइनन् । उनले सधैँ पार्टीको वफादारीमा विश्वास गरे । संगठनको सोझो गरे । नारालाई सक्दो व्यवहारमा अनुवाद गर्न खोजे । कार्यकर्ताहरुलाई हौसला र प्रोत्साहनका साथ प्रशिक्षण दिए । विचार र व्यवहारबीच संगति नदेखिँदा कतिपय नेताहरुको आलोचना पनि निर्धक्कसँग गरे उनले ।
त्यो पक्कै संगठनले सही दिशा लेओस् भनेरै थियो । क्रान्तिको पहिलो स्वाद समाजको तल्लोभन्दा तल्लो वर्गको मान्छेले पाउनुपर्छ भनेरै थियो । यसमा शंका छैन । त्यसैले पनि होला, उनले ‘क्यास माओवादी’ वा ‘खाओवादी’ शैली अपनाएनन् । त्यस बाटोतर्फ उन्मुख पार्टी नेतृत्व र त्यसवरिपरिको भुइँफुट्टा झुन्डको स्वाभिमानपूर्वक आलोचना गरे उनले । त्यसमा पत्नी र छोरीले साथ दिएकै हुन् । समर्थन जनाएकै हुन् ।
तर, केही दिनयता विप्लवपत्नी र छोरीको अनुहार मलिन छ । उनीहरुले कपालमा पोतेको कालो मेहन्दीको छायाँ पक्कै होइन त्यो । विप्लवले लिएको कठोर निर्णयको छायाँ हो त्यो, जुन आमाछोरीलाई मन परिरहेको छैन । यही बीचमा मोहन वैद्य ‘किरण’को नेतृत्वसँग औपचारिक रुपमा सम्बन्ध–विच्छेद गरेको घोषणाले त विप्लवपत्नीलाई झै बढी व्यथित बनाएको छ । मुलुक गणतन्त्र भइसक्यो । क्रान्तिका धेरै उपलब्धि हात लागिसके । इमानदारिता, त्याग, तपस्याको पूर्णतः पशुपतिमा सत्गद भइसकेको छैन । त्यसैले समाजमा रहेका असंगति र अव्यवस्थाका विरुद्ध जुध्न जंगल नै जानुपर्ने होइन । खुला रुपमा संगठन गरेर, जनजागरण ल्याएर, युवाहरुलाई आकर्षित गरेर नै सम्भव छ । यहीँ बसेर सम्भव छ । यसो भनेर उनीहरुले बारम्बार सम्झाए पनि । ‘जति सम्झाउँदा पनि नलागेपछि के गर्नु ?’ निकटस्थहरुसामु विप्लव पत्नीले भन्ने गरेकी छन् ।
विप्लव ऊर्जावान् छन् । इमानदार छन् । कटिबद्ध छन् । प्रतिबद्ध छन् । उनको सम्भावना र क्षमता देखेर नै प्रचण्डले विभिन्न प्रसंगमा आफ्नो उत्तराधिकारी वा विकल्पका रुपमा चिनाएका हुन् । उनीप्रति आशावादी ठूलो क्रान्तिकारी युवा पंक्ति पनि छ । तर, त्यो बल उनी कसरी प्रयोग गर्दै छन् ? कुन बाटो रोज्दै छन् ? उनलाई जानेको र आजसम्म मानेको त्यो पंक्तिले विप्लवले रोजेको बाटो सही ठह¥याउला ? अर्थात्, हिजोजस्तै जोखिम मोल्ला त्यो पंक्ति ? सहरका सुख, सुविधा, आधुनिक युगका आवश्यकता र आविष्कारहरु चटक्क बिर्सेर जंगलको बाटो रोज्ला ? आज यो प्रश्न पेचिलो बनेर उभिएको छ, जुन प्रश्नहरुको गुजुल्टो विप्लवपत्नी र उनकी छोरीको मुहारमा पढ्न पाइन्छ । त्यो गुजुल्टो छिचोलेर सही उत्तर ठम्याउनचाहिँ मुस्किल छैन ।
Comments are closed.