विपदका घटनाः वैशाखयता ८४ को मृत्यु, २५ जना वेपत्ता

91
  •  
  •  
  •  

काठमाडौं । नेपालमा केहिदिन यता विपदका घटनाबाट धेरै जनधनको क्षति भएको छ । यो वर्षको मनसुन शुरु भएलगतै सबैभन्दा बढीमा क्षति पुर्‍यायो । सिन्धुपाल्चोकमा बाढी पहिरोले चार जनाको मृत्यु भएको छ भने २० जना अझै वेपत्ता छन् ।

हेलम्बुमा गएको बाढी

यस्तै सोही बाढीले ९३ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीले सिन्धुपाल्चोकमा ९३ घरमा क्षति पुगेको हो ।
जसमध्ये हेलम्बु गाउँपालिकामा पक्की घर–स्कुल, सरकारी कार्यालयसमेत) ८९ संरचनामा क्षति पुगेको छ । जसमध्ये गाउँपालिकामा रहेको तीन तले प्रहरी चौकी खोलामा ढलेको थियो भने दुईवटा विद्यालय बगाएको छ ।
त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा ४ वटा घरमा क्षति पुगेको छ । त्यस्तै १९ वटा पुल बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै जनाएको छ । जसमध्ये १२ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल रहेको छ ।
उक्त स्थानमा २० जना अझै वेपक्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यस्तै बाढीले मनाङमा र लमजुङ लगायत धेरै जिल्लामा क्षति पुर्‍याएको छ ।

वैशाखयता ८४ को मृत्यु, २५ जना वेपत्ता

बाढी, पहिरो चट्याङ, आगलागी लगायतका विपद्का घटनाका कारण यस वर्षको असार ११ गतेसम्म ८४ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेयता विपद्का घटनामा परि २५ जना वेपत्ता भएका छन्।

वैशाख १ देखि असार ११ सम्ममा पहिरोका ९२ घटना भएको र त्यसमा परि १२ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। पहिरोमा परि १५ जना घाइते हुँदा ४० चौपायाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार पहिरोका कारण १८ लाख ४७ हजार रुपैयाँको अनुमानित क्षति भएको छ।

त्यस्तै सोही अवधिमा बाढीका ३९ घटना भएको र १३ जनाको मृत्यु भएको छ भने २३ जना वेपत्ता भएका छन्। बाढीका कारण ६ जना घाइते हुँदा ११ चौपायाको मृत्यु भएको छ। अविरल वर्षका कारण ३ जनाले ज्यान गुमाउँदा १ जना घाइते भएका छन्।

त्यस्तै देशभर सोही अवधिमा चट्याङका ११२ घटना भएका थिए। जसमा परि २५ जनाको मृत्यु हुँदा १ सय जना घाइते भएका छन् भने ५९ चौपायको मृत्यु भएको छ।

सर्पदंशका पाँच घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्। त्यस्तै वैशाखयता आगलागीका ४ सय २५ घटना भएका प्राधिकरणले जनाएको छ जसका कारण ११ जनाले ज्यान गुमाउँदा ५६ जना घाइते भएका छन्।त्यस्तै डढेलोमा परि ३ जनाले ज्यान गुमाउँदा १ जना घाइते भएका छन्।

असार ११ गतेसम्मको अवधिमा हावाहुरीका ३० घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता र ४ जना घाइते भएका छन्।

सोही अवधिमा जनावरको आक्रमणमा परि ११ जनाको मृत्यु हुँदा ३९ जना घाइते भएका छन् भने १२ चौपायको ज्यान गएको छ।

प्राधिकरणका अनुसार सो अवधिमा विपद्का ८७३ घटना हुँदा ८४ जनाको मृत्यु भएको छ भने २५ जना वेपत्ता भएका छन्। २२३ जना घाइते हुँदा ४०८ चौपायाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार विपद्का घटनाका कारण ४२ करोड ९८ लाख ९४ हजार १ सय ९० रुपैयाँको अनुमानित क्षति भएको छ ।

 


  •  
  •  
  •