सरकारले विपदमा परि ज्यान गुमाएकाकाे परिवारलाई दुई लाख रुपैयाँ दिने

344
  •  
  •  
  •  

काठमाडौं । सरकारले बाढीपहिरो जस्ता विपदमा परेर ज्यान गुमाउनेका परिवारलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ लाख दिने निर्णय  गरेको छ । साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो ।

विपदमा परि परिवारमा एक जनाको ज्यान गएमा दुई लाख रुपैयाँ र अरु व्यक्तिको पनि ज्यान गएमा प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराइने भएको छ । राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने र एक घरका सबै सदस्यको ज्यान गएमा भने राहत उपलब्ध नगराइने पनि गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैबीच सम्बन्धित जिल्ला प्रमुख जिल्ला अधिकारीले अब बाढी पहिरो लगायत विपतमा परेकाको खोज तथा उद्वार गर्ने कार्यको लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै बेला परिचालन हुन सक्ने अवस्थामा राख्नुपर्ने भएको छ ।

 गृहमन्त्रालयका अनुसार अब प्रमुख जिल्ला अधिकारीले आपत्कालीन खाद्यान्न एवं लत्ताकपडाको भण्डारणको व्यवस्थापन गर्नुपर्नेछ ।

यस्तै विपदमा घर, बहाल, आवासलगायत नष्ट भएमा खाद्यान्न, बाली, जग्गा जमिन र पसलमा क्षति पुगेमा तत्काल गुजाराका लागि पाँच जना परिवार भएमा प्रतिपरिवार १५ हजार रुपैयाँ र त्योभन्दा धेरै परिवार सदस्य भएमा २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •