विनियोजन विधेयक राष्ट्रियसभामा पेश

313
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७६’ पेश भएको छ ।
बुधबारको बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले ‘विनियोजन विधेयक २०७६’ पेश गरेका हुन् ।

प्रतिनिधिसभाबाट सन्देशसहित सो विधेयक पठाइएको थियो । बैठकको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामीण क्षेत्रमा रहेका क्याम्पसलाई सञ्चालन गर्न सरकारले दिने रकम वृद्धि गरी १० लाखदेखि १५ लाखसम्म पुर्याउन माग गरिन् ।

सांसद दुर्गाप्रसाद चापागाईंले मानो रोपेर मुरी उब्जाउने समयमा मलखाद अभाव भएकामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद नन्दा चापागाईंले राष्ट्रियसभाको विधायन समितिमा गुठीसम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल नै नभएको अवस्थामा पत्रपत्रिकाले झारा टार्ने तरिकाले छलफल भयो भन्नु गलत रहेको बताइन् ।

सांसद बद्री पाण्डेले कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनमा भाग लिन गएका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तामाथि सांघातिक हमला गरिएको भन्दै विरोध जनाए ।

सांसद रमेशजंग रायमाझीले काठमाडौं उपत्यकाभित्र विशेषगरी साँझको समयमा बाटोमा हिँडिरहेका युवतीमाथि सिरिञ्ज रोप्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरे ।
राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रकाश पन्तले मौलिक हक कार्यान्वयनका लागि बनेका ऐन कार्यान्वयन गर्न विनियमावली ल्याउन माग गर्दै सामाजिक सुरक्षामा बजेट वृद्धि गर्न पनि जोड दिएका थिए ।


  •  
  •  
  •