“पूर्वाधार र प्रतियोगिता संचालनमा नयाँ पद्धति बसाल्छु” : पाण्डे

257
  •  
  •  
  •  

PANDEYकाठमाडौं, २० कात्तिक (ओएनएस) : तीन बर्षअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान)को तत्कालिन कार्य समितिलाई समयमा निर्वाचन गर्न नसकेको भन्दै बिघटन गरेको थियो । विनयराज पाण्डेको अध्यक्षमा रहेको उक्त समितिलाई बिघटन गर्दै राखेपले एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य समेत रहेका टंक आङबुहाङलाई तदर्थ समितिमा नियुक्त गरेको थियो । नियुक्त भएको तीन महिना भित्र निर्वाचन गराउँदै क्यानको नेतृत्व २ बर्ष सम्हालेका आङबुहाङ भ्रष्टाचार कान्डमा मुछिपछि उनै पाण्डे क्यानमा फेरि फर्किएका छन् ।

मन्त्रीपरिषद्को बैठकले पाण्डेलाई अध्यक्ष नियुक्त गर्दा श्रीहर्ष कोइरालालाई उपाध्यक्ष र रमेश सिलवाललाई महासचिवमा नियुक्त गरेको हो । कोइराला र सिलवाल पनि क्यानका पूर्व उपाध्यक्ष हुन् । निर्णयबारे पान्डेले भने ‘नेपाली क्रिकेटमा ४५ बर्ष बिताएर फेरि फर्किनु पर्दा एकप्रकारको दुख लागेको छ, तर पनि नेपाली क्रिकेटको बिकासको लागि होमीन तयार छुँ । ’

पान्डेले अघि थपे ‘राम्रो मान्छे आएर क्रिकेटको विकास गर्न सक्ने भन्ने सोचेर बर्खास्तीमा पर्दा पनि चुप लागेको बसेको हुँ । तर यो तीन वर्षको अवधिमा क्रिकेटमा भ्रष्टाचार भएको प्रस्ट छ । ’

तर मन्त्री परिषद्को निर्णय गैर–कानुनी भएको राखेपका सदस्यसचिव युवराज लामाले दिएको मतलाई मान्न पाण्डे तयार छैनन् । ‘युवराजजीलाई राम्रो लागे सबै ठीक, नराम्रो लागे बेठीक भन्ने होइन । ’ पाण्डले अघि थपे ‘यहाँ को ब्यक्ति आयो भन्दा पनि क्रिकेटको बिकास कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुन्छ । ’

पद्धतीमा चल्ने नाममा यसअघि राखेपले क्रिकेट नबुझेका ब्यक्तिहरुलाई नियुक्त गरेको बताउदै पाण्डेले ब्यक्तिको पछि लाग्दा क्रिकेट बिकास हुन नसकेको बताए । उनले भने ‘३ बर्षअघि नियुक्त गरेको ब्यक्तिको बिषयमा मैले आफ्ना धारणा सार्वजनिक गर्न उचित ठानिन, चुपचाप बसिरहे । तर क्रिकेट नबुझेका मानिस आउदा प्रतियोगिताको पद्धति र पूर्वाधारको निर्माणले गति लिन सकेन ।’

पाण्डेले मूलपानीको क्रिकेट मैदान तीन वर्षअघि नै सम्पन्न हुनु पर्नेमा अघिसम्म हुन नसक्दा दुख लागेको बताए । तीन बर्षअघि निर्वाचित भएको टंक आङबुहाङको नेतृत्वले उल्टो काम गर्दा मैदानले गति लिन नसकेको उनले बताए । ‘मुलपानीको मैदान निर्माणको लागि क्यानसँग ७ करोड बजेट थियो, तर साथीहरुले त्यो रकम कता पु¥याउनु भयो, पत्तो छैन । उहाँहरुले भवन मात्र बनाउभयो, कमसेकम मैदान निर्माण गरेको भए प्रतियोगिता सञ्चालन गर्न सकिथ्यो ।’

पाण्डेले आफुले सन् १९९६ मा बिकास गरेको राष्ट्रिय प्रतियोगितालाई परिमार्जित गर्दै पूर्वाधारको विकास गर्नु आफ्नो पहिलो प्राथमिता हुने बताए । उनले भने ‘यी काम गर्न सकेको खण्डमा राष्ट्रिय क्रिकेट खेलाडीहरुले उठाएका मागहरु स्वत पूरा हुन्छ । प्रतियोगिता निरन्तर हुँदा प्रयोजक आउछन् जसले खेलाडीको आम्दानी पनि बढ्छ ।’

यसअघि गत जेठमा अख्यिार दुरुपयोग अनुसन्धान आयोजले क्यानमा भ्रष्टाचार भएको भन्दै टंक आङबुहाङसहित १० जनालाई बिशेष अदालतमा मुद्धा दायर गर्दै निलम्बन गर्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि क्यानले उपाध्यक्ष तारिणीबिक्रम शाहलाई कार्यबाहक अध्यक्ष र उत्तम कर्माचार्यालाई महासचिव बनाउने निर्णय गरेको थियो ।


  •  
  •  
  •