आजदेखि विमानस्थल १० घण्टा बन्द, दिनहुँ ७० उडान रोकिने

616
  •  
  •  
  •  

काठमाडाैं। धावनमार्ग जीर्णोद्धार गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि १० घण्टा बन्द हुने भएको छ । काम नसकिउन्जेल कम्तीमा २० प्रतिशत उडान कटौती हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग ४५ वर्षपछि जीर्णोद्धार गर्न लागेको हो ।

वैकल्पिक धावनमार्ग नभएकाले काम नसकिउन्जेल उडान कटौती गरिने विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले बताए । ‘आन्तरिक र अन्तर्राष्ट्रिय गरी १५ देखि २० प्रतिशतसम्म उडान संख्या घट्ने देखिन्छ,’ उनले भने । उक्त विमानस्थलमा दैनिक ३ सय ५० हाराहारी उडान हुन्छन् । कटौतीपछि कम्तीमा ७० वटा उडान घट्ने देखिन्छ । यात्रुले घण्टौं विमानस्थलमा कुर्नुपर्ने, समयमै गन्तव्य नपुग्नेजस्ता समस्या झेल्नुपर्ने हुन सक्छ ।

दैनिक २२ घण्टासम्म खुल्दै आएको विमानस्थल सोमबार (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०) सम्म बेलुकी १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ । ‘मौसमका कारण रातको १० नबज्दै कुनै विमान सिमराको आकाशमा होल्डमा परेको छ भने त्यसले १० बजेपछि काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाउने भनिएको छ,’ काठमाडौंस्थित एक विदेशी एयरलाइन्सका स्टेसन म्यानेजरले भने, ‘विमानस्थलले जारी गरेको नोटाम (नोटिस फर एयरम्यान) मा १० बजेपछि कुनै बहानामा छुट दिइएको छैन ।’ काठमाडौंमा अवतरण हुन नसक्ने विमान भारतका लखनउ, कोलकाता, दिल्ली र बंगलादेशको ढाकातर्फ ‘डाइभर्ट’ भई अर्को बिहान आउनुपर्नेछ । कि त जुन मुलुकबाट आएको हो त्यतै फर्किनुपर्ने हुन सक्छ ।

आपतकालीन अवस्थामा भने होल्डमा परेको वा अरू कुनै जायज कारण भए अवतरण गराउन सकिने जीर्णोद्धार गर्ने हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले बताए । ‘आपतकालीन उडानबाहेक १० बजेपछि रिह्याबिलिटेसनको काम सुरु हुने भएकाले विमानस्थल बन्द हुनेछ,’ उनले भने । राति १० देखि ३ बजेसम्म दर्जनभन्दा बढी एयरलाइन्सले मध्यपूर्वी मुलुकहरू, चीन, मलेसिया, हङकङलगायत गन्तव्यमा उडान गर्थे । सोमबारदेखि यी उडान बिहान ८ देखि बेलुकी १० बजेभित्र सारिएको छ । तर, काठमाडौंको बदलिरहने मौसम, पार्किङ(वे अभावलगायत कारण दिउँसो सारिएका उडान पनि प्रभावित हुने एयरलाइन्सले जनाएका छन् । ‘रातिका उडानलाई दिउँसोको स्लट दिइएको छ तर व्यवस्थापकीय चुनौती निकै छ । कस्तो असर पर्ने हो, सोमबारपछि मात्रै भन्न सकिनेछ,’ मध्यपूर्वी मुलुकको एक एयरलाइन्सका प्रतिनिधिले भने ।

काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुन्छन् । आन्तरिकमा सर्वाधिक उडान हुने लुक्ला हो । काठमाडौं(लुक्ला(काठमाडौं मात्रै दैनिक सय हाराहारी उडान हुने गरेको वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्यामराज आचार्यले बताए । उनका अनुसार लुक्लाका लागि उड्दै आएका तीनवटा एयरलाइन्सले सोमबारदेखि रामेछापबाट उडान गर्दैछन् । ‘करिब ८० वटा उडान रामेछापबाट गर्दै छौं,’ उनले भने, ‘१० वटा हाराहारी काठमाडौंबाट होलान् ।’ तर, ११ बजेपछि लुक्लाको मौसम बदलिने भएकाले त्यसपछि चुनौती सामना गर्नुपर्छ । बिहान ६ देखि ९ बजेसम्म काठमाडौंबाट सबैभन्दा धेरै उडान पर्यटकीय सिजनमा लुक्लाकै लागि हुने गर्थे । धावनमार्ग जीर्णोद्धार हुने भएपछि पर्यटन व्यवसायीले विदेशी, पर्यटक, गाइड, भरियालाई बसबाट रामेछाप लैजान थालेका छन् । रामेछापको मन्थली विमानस्थलबाट जहाजमा लुक्ला पुग्न १८ मिनेट तथा काठमाडौंबाट २८ मिनेट हाराहारी लाग्छ ।

आयोजनाका अनुसार अप्रिल १ देखि चिनियाँ ठेकेदारले धावनमार्ग जीर्णोद्धार थाल्दै छ । समयमै काम सकिए मध्य असारपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गर्न सकिनेछ । अहिले बिहान ५ बजे खुलेपछि अर्को दिन राति ३ बजे बन्द हुँदै आएको छ । दुई घण्टाको अवधिमा धावनमार्ग मर्मतलगायत काम हुन्छन् । अत्यधिक पानी पर्दा वा कुनै समस्या आइपर्दा आकाशमा जहाज ‘होल्ड’मा राखेर धावनमार्गमा भत्केको पिच मर्मत हुने गरेको थियो । जीर्णोद्धारपछि धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने बताइएको छ ।

कान्तिपुर दैनिकमा खबर छ।


  •  
  •  
  •