एसीयाडकी कास्य पदक विजेता तामाङ्गलाई नगदसहित सम्मान

209
  •  
  •  
  •  

काठमाडौ, १६ फागुन । कोरियामा सम्पन्न १७ औ एसियाली खेलकुदमा कास्यपदक जित्न सफल एकमात्र खेलाडी विमला तामाङ्गलाई धादिङ्ग–नुवाकोट समाज यूकेले नगदसहित सम्मान गरेको छ ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमका मुख्य अथिति सभासदद्धय दिलमान पाख्रिन, परशुराम तामाङ्ग, समाजका महासचिव हरि सिंह वाईवा तामाङ्ग र कोषाध्यक्ष गोलबहादुर तामाङ्गले संयुक्त रूपमा सम्मानपत्र सहित २ लाख ८ हजार रूपैँयाको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममै  हालै बेलायतमा सम्पन्न दशौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्यपदक जित्न सफल नेपाली खेलाडी मनोज लामालाई १५ हजार नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रम सभासद दिलमान पाख्रिनले विमला तामाङ्गले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम राखेको भन्दै राष्ट्रले उनलाई जतिसुकै सम्मान गरे पनि बढी नहुने बताए । उनले राज्यले खेलाडीहरुलाई सोचे अनुसार सम्मान गर्न नसकी रहेको अवस्थामा जनताको तहबाट सम्मान गरिनु सकारात्मक भएको भन्दै यस्ता सम्मानहरुले खेलाडीहरुलाई अझै बढी उपलब्धि हात पार्न उत्प्रेरित गर्ने विश्वास ब्यक्त गरे ।

अर्का सभासद पर्शुराम तामाङ्गले विमलाले नेपालको ईज्जत राखेको भन्दै राज्यले यस्ता प्रतिभाहरुलाई सम्मान गर्नु पर्ने बताए । उनले तामाङ्गको सफलता धादिङ्ग र नुवाकोटको नभई मुलुककै सफलता भएको भन्दै यस्ता प्रतिभालाई सम्मान गर्ने परम्पराले खेल क्षेत्रको विकासमा लाग्न अरुलाई पनि उत्साहित बनाउने बताए । उनले सात समुन्द्र पारीबाट नेपाली खेलाडीलाई सम्मान गरेकोमा समाजलाई धन्यबाद समेत दिए ।

सम्मानित तामाङ्गले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको भन्दै भोलीका दिनमा मुलुकलाई चिनाउन अझै कडा मेहनत गर्ने प्रतिबद्धता ब्यक्त गरिन । उनले आफूलाई यस ठाँउमा पुर्याउन गुरु धु्रब बिक्रम मल्ला र बलाजु तेक्वान्दो डोजाङ्गप्रति आभार ब्यक्त गरिन ।

अर्का सम्मानित खेलाडी मनोज लामाले सम्मानले आफूलाई उत्साहित बनाएको बताए ।


  •  
  •  
  •