काठमाडौं १९ चैत ।
महाभूकम्पको क्षति भएर बिमा दाबी गरेका करिब ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् । यो कुल दाबी संख्याको २७.८ प्रतिशत हो । उनीहरूले बिमा गर्दा सही गरेको कागज बिमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने बताएका छन् । तर, पिडितहरू त्यो कुरा मान्न तयार छैनन् । बिमा कम्पनीहरूकै लापरबाही र ठग्ने प्रवृत्तिका कारण आफूहरूले बिमा दाबी नपाएको पीडितको गुनासो छ ।
उनीहरूका अनुसार बिमा कम्पनीहरू बढी क्षति भए पनि कममात्र भएको देखाउँछन् । सर्भेयरसँग मिलेर बिमा कम्पनीले न्यून क्षति देखाउने गरेको उनीहरूको भनाइ छ । साधारणतया सर्भेयर बिमा कम्पनीकै हुन्छन् । विशेष अवस्थामा विदेशबाट पनि सर्भेयर ल्याउन पाइन्छ । ती सर्भेयर पनि सम्बन्धित कम्पनीले नै ल्याउने हुन् । ‘बिमा कम्पनीले सकेसम्म क्षतिको कम मूल्यांकन गर्छन्,’ नेपाल डेरि फाम्र्स एसोसिएसन भक्तपुरका अध्यक्ष प्रदीपराज पन्तले भने, ‘कागजी प्रक्रिया पनि झन्झटिलो बनाएर साना बिमितलाई दु:ख दिने गरेका छन् ।’
बिमा रकम नपाउनेको गुनासो उपभोक्ता हितमा काम गर्ने संघसंस्थाहरूमा बाक्लै परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘बिमा कम्पनीहरूले दसथरिका बहाना बनाएर ठग्ने गरेका छन्,’ उनले भने, ‘हामीकहाँ प्रशस्त उजुरी परेका छन् ।’
तर बिमालेखले नसमेटेका (नो क्लेम) दाबी मध्ये अधिकांश साना र बिमालेखको अधिकतम सीमाभन्दा कम दाबी रहेकाले भुक्तानी दिन नसकिएको नेपाल बिमक संघका अध्यक्ष विजयबहादुर शाहले बताए । सबै क्षतिको भुक्तानी पाइन्छ भन्ने आशाले सुरुमा सबै प्रकारका दाबी परेकाले दाबी नपर्ने (नो क्लेम)संख्या धेरै देखिएको उनको भनाइ छ । ‘बिमालेखका निश्चित सीमाभन्दा कमको क्षति बिमा कम्पनीले बेहोर्नु पर्दैन, धेरै दाबी त्यस्तै प्रकारका छन्,’ शाहले भने ।
भूकम्पसम्बन्धी बिमा लेखमा कुल बिमांक रकमको २.५ प्रतिशत वा १० लाख रुपैयाँ जुन कम हुन्छ त्यो क्षति बिमित आफैंले बेहोर्नुपर्ने कानुनी व्यवस्था छ । यसले पनि दाबी नलाग्ने संख्या बढाएको शाहले बताए ।
यस्तै, वास्तविक रकमभन्दा कमको बिमा (अन्डर इन्स्योरेन्स) का कारणले पनि दाबी नलाग्ने संख्या बढेको एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनका अनुसार खासगरी बैंकद्वारा गरिएको बिमामा यस्तो समस्या देखिएको छ । ‘बैंकहरूले आफूले प्रदान गरेको कर्जा बराबरमात्रको बिमा अनिवार्य गरेकाले यस्तो समस्या आएको हो,’ ती अधिकारीले भने । क्षति भएका व्यक्तिको घरको मूल्य वास्तवमा बढी हुन्छ । तर बिमा गरिएको रकम बराबरको मात्रै दाबी गर्न पाइन्छ । त्यसको पनि २.५ प्रतिशत वा १० लाख जुन कम हुन्छ त्यति रकम मात्रै पाउने हुँदा बिमा नपाइएको ती अधिकारीले बताए ।
बिमा कम्पनीभन्दा पनि बिमितका कारणले बिमालेखले नसमेट्ने दाबी संख्या धेरै आएको बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बताए । भूकम्पपछि हताश मानसिकताका कारण बिमितबाट सबै प्रकारका क्षतिउपर दाबी परेकाले अहिले दाबी नलाग्ने संख्या धेरै देखिएको हो । ‘ती मध्ये धेरै दाबी कम क्षतिका छन्,’ उनले भने ।
महाभूकम्पपछि निर्जीवन बिमा कम्पनीले कुल अनुमानित दाबी रकमको ५४.९२ प्रतिशत मात्र भुक्तानी गरेका छन् । भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि १६ वटा बिमा कम्पनीमा १८ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बराबर १७ हजार ६ सय ८७ वटा दाबी परेका थिए । त्यसमध्ये चैत १८ सम्म १० अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबर (११ हजार ४ सय २ वटा दाबी) दाबी भुक्तानी भएको बिमा समितिको भनाइ छ । संख्याका आधारमा यो कुल दाबीको करिब ६४.४७ प्रतिशत हो ।
अन्तिम भुक्तानी संख्यामा भुक्तानी गर्नु नपर्ने दाबी समेत जोडदा कुल दाबी संख्याको ८१.८२ प्रतिशत फस्र्योट भइसकेको छ । बाँकी रहेको दाबीमध्ये केही मूल्यांकन प्रक्रियामा रहेको र केही भुक्तानीको अन्तिम चरणमा रहेको जानकारी बिमा कम्पनीहरूबाट आएको अध्यक्ष केसीले बताए । ‘तीमध्ये अधिकांश दाबीमा सर्भेयरको मूल्यांकन प्रतिवेदन नआएर ढिलाइ भएको हो,’ उनले भने ।
हालसम्म अग्नि बिमा शीर्षकमा ५ अर्ब २० करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । भूकम्पको जोखिमबारे गरिने बिमालाई अग्नि बिमालेख शीर्षकमा राख्ने कानुनी व्यवस्था छ । बिमा समितिले २०७० देखि उक्त व्यवस्था गरेको हो । अग्नि बिमा योजना अन्तर्गत हालसम्म बिमा कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ पेस्की बुझाएका छन् ।
कान्तिपुरबाट