यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने

447
  •  
  •  
  •  

८ चैत्र, काठमाडौं : यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्।

अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ।

पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्।

मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए।

त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन।

– वार्सा सन्धिमा २० हजार डलर मात्रै बिमा रकम

– पीडितले दाबी नगर्दा पनि एक करोड ४५ लाख रुपैयाँ पाउने

– नेपाली कानुनअनुसार बिमा दाबी गरे २० हजार डलर मात्रै पाइने

– मन्ट्रियल कन्भेन्सनमा असीमित दायित्वलाई प्रोत्साहन

सरकारी निर्णय र नेपाल सरकार मातहतमा अदालतबाट बिमा दाबी गर्दा पीडितले उचित बिमा नपाउने अधिकारी ठोकुवा गर्छन्। ‘नेपाली कानुनलाई पछ्याएर क्षतिपूर्ति तथा बिमा दाबी गरे वार्सा कन्भेन्सनअनुसार पीडितले २० हजार डलर मात्रै पाउने भुक्तानी हुन्छ,’ अधिकारीले बुधबार अन्नपूर्णसित भने, ‘तर वार्सा कन्भेन्सनकै आधारमा पनि पीडितले असीमित दायित्वअन्तर्गत बिमा भुक्तानी पाएका अन्तर्राष्ट्रिय नजिर छन्।’

यही नजिर यूएस बंगलामा पनि लागू हुने अधिकारीले बताए। उचित बिमा दाबी गर्न वार्सा कन्भेन्सन र मन्ट्रियल कन्भेन्सनले विभिन्न क्षेत्र निर्धारण गरेको छ। तीनै क्षेत्रलाई आधार मानेर बिमा दाबी गर्दा व्यक्ति, लालनपालन, ठाउँ, ऐन कानुनका आधारमा पाउने रकम फरक–फरक हुन सक्छ।

कुन क्षेत्रलाई समातेर बिमा दाबी गरे बढी बिमा दाबी भुक्तानी हुन सक्छ। पीडित परिवारलाई राहतका लागि कुन तरिका अपनाएर कहाँ दाबी गर्ने भने विषयमा सोच्नुपर्ने उनको भनाइ छ।

यूएस बंगला दुर्घटना पीडितले शतप्रतिशत असीमित दायित्व अन्तर्गतकै बिमा दाबी गर्न सक्ने अधिकारी बताउँछन्। असीमित दायित्व कम्पनीले व्यहोर्नु नपर्ने भनेर प्रमाणित गर्ने भार बिमा कम्पनीकै हुने अधिकारी बताउँछन्। यूएस बंगला कम्पनीको विमानले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा दुर्घटनामा परेका पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न नपाउने प्रमाणित गरेको अवस्थामा मात्रै यो लागू नहुने अधिकारीको दाबी छ।

प्राइम फेसी (प्रथम दृष्टिमै) यो विमान दुर्घटनामा पाइलटको कमजोरी देखिन्छ। म्यानुफेक्चर इरर, मेकानिकल फेलियर, पाइलट इरर र प्यासेन्जरको असावधानी, एयर ट्राफिक कन्ट्रोल रुमको फल्ट, चरा, चट्याङ, आतंकवादलगायत कारणले विमान दुर्घटना हुन्छन्।

विश्वमा अहिलेसम्म भएका विमान दुर्घटनामध्ये ७० प्रतिशत पाइलटको असावधानीकै कारण भएको अध्ययनले देखाएको छ। यूएस बंगला विमान दुर्घटनामा पनि पाइलटले अपनाउनुपर्ने सावधानी अपनाएको देखिँदैन।

पाइलटले सावधानी नअपनाउँदा जहाज दुर्घटना भएको हो। पाइलटकै कारण जहाज दुर्घटना भएको अवस्थामा पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्नुपर्ने अधिकारीको सुझाव छ।

सन् १९९२ जुलाई ३१ को थाई एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट मुद्दा लडेर सात लाख ५० हजार डलर बिमा लिएको उदाहरण छ। तर, सोही घटनामा ज्यान गुमाएका मीनाकुमारी थापाको परिवारले भने थाई अदालतबाट बिमा दाबी गर्दा एक लाख डलर पाएका थिए। त्यस बेलासम्म वार्सा कन्भेन्सन नै लागू थियो। कन्भेन्सनमा बिमाबापत २० हजार डलर मात्रै बिमा दाबी भुक्तानी गर्ने व्यवस्था थियो।

पीडित परिवारले कसरी बढी राहत पाउँछन् ?

पीडित परिवारले कहाँ कुन तवरबाट मुद्दा दर्ता गराएको छ, त्यसका आधारमा बिमा रकममा तलमाथि पर्ने अधिकारी बताउँछन्। नेपालको ऐन कानुनअनुसार बिमा दाबी गर्दा वार्सा कन्भेन्सनकै आधारमा २० हजार डलर मात्रै भुक्तानी पाउने वरिष्ठ अधिवक्ता अधिकारी बताउँछन्।

पीडित परिवारले मन्ट्रियल कन्भेन्सनको आर्टिकल ३१ मा उल्लेख गरिएका पाँच वटा क्षेत्रलाई आधार मानेर असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न सक्छन्।

पीडित परिवारले जहाजको गन्तव्य देश, दुर्घटना भएको ठाउँ, विमान कम्पनीको व्यावसायिक क्षेत्र, विमान रजिस्ट्रर भएको देश, जहाजको बिमा गरिएको कम्पनी वा देश रहेको स्थान वा वादी रहेको देशमा बिमा दाबी गर्न सक्छन्। तर, जुनसुकै देशबाट बिमा दाबी गरे पनि पीडितका परिवारले एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर न्यूनतम बिमा भुक्तानी पाउने अधिकारी बताउँछन्। तर, असीमित दायित्व अन्तर्गतको बिमा दाबीका लागि पीडित परिवारले एयरलाइन्स कम्पनीको बिजनेस क्षेत्रका आधारमा दाबी गर्नु उचित हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ अधिकारी बताउँछन्।

यूएस बंगला विमानमा अमेरिकी कम्पनीको पनि लगानी छ। बिमा रकम बढाउनुपर्छ भनेर अभियान चलाउने देश पनि अमेरिका नै भएकाले यो विमान दुर्घटनाका पीडित परिवारले असीमित दायित्वअन्तर्गत बिमा दाबीका लागि अमेरिकाको अदालतमा मुद्दा लड्न पाउने अधिकारीको तर्क छ। तर, मुद्दा लड्नका लागि पीडित परिवार अमेरिका जानु नपर्ने र नेपालबाटै कानुन व्यवसायीको मद्दतमा अमेरिकाको अदालतमा मुद्दा दर्ता गर्न सकिन्छ।

आईकाओले हवाई बिमामा एकरुपता ल्याउनकै लागि भनेर सन् १९९९ मा मन्ट्रियल सन्धि लागू गरेको हो। यो अहिले विश्वभर लागू भइरहेको छ। नेपालमा पनि हवाई यात्रुको सुरक्षा र संरक्षणका लागि यो सन्धि अवलम्बन गर्नुपर्ने अधिकारी बताउँछन्।

मन्ट्रियल सन्धिले वार्सा सन्धिलाई खारेज गरेको उनको दाबी छ। वार्सा सन्धिका आधारमा मात्र बिमा दाबी गर्नु पीडित परिवारका लागि अन्याय हुने उनको भनाइ छ। वार्सा सन्धिमा हवाई यात्रु बिमा रकम २० हजार डलर मात्रै थियो। तैपनि, थाई एयरवेजको जहाज दुर्घटनाका निरञ्जन कोइरालाले असीमित बिमा दाबी गर्दै सात लाख ५० हजार डलर पाएका थिए। अमेरिका नै मन्ट्रियल सन्धि लागू गर्ने प्रमुख देश हो।

वार्सा सन्धिमा भएको हवाई यात्रुको बिमा २० हजार डलर अति नै न्यून भएको भन्दै अमेरिका त्यस सन्धिबाट बाहिरिएर सन् १९६६ मा मन्ट्रियल सन्धिको अवधारणा सुरु गरेको हो। सोही समय वार्साको २० हजार डलरको ठाउँमा अमेरिकाले न्यूनतम पनि ७५ हजार डलर बिमा र असीमित बिमा दाबी गर्न सक्ने अधिकार दिएको थियो। सोही अवधारणालाई आईकाओ पहलमा सन् १९९९ मा सबैमा एकरूपता ल्याउन भन्दै जारी गरेको अधिकारी बताउँछन्।

असीमित दायित्वअन्तर्गत बिमा दाबीका आधार

विमान दुर्घटनाका पीडितले ‘लस्ट अफ सर्भिस, लस्ट अफ सपोर्ट, लस्ट अफ सोसाइटी र दाहसंस्कारका लागि पनि बिमा रकम दाबी गर्न सक्छन्।यसैगरी, पीडित परिवारले लस्ट अफ फ्युचर सपोर्ट, सर्भिस, सोसाइटीका आधारमा पनि असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न सक्ने प्रावाधन रहेको अधिकारी बताउँछन्। यसबाहेक पनि ज्यान गुमाउनेका बाबुआमा तथा बालबच्चाले मातृत्व र पितृत्व, सपोर्ट, सोसाइटीलगायत विषयमा पनि बिमा दाबी गर्न सक्छन्। मन्ट्रियल सन्धिको आर्टिकल १७, २२ र ३१ मा बिमा दाबीको विषयका उल्लेख छ। असीमित दायित्वअन्तर्गत बिमा दाबीका लागि सरकारी जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु नपर्ने अधिकारीको भनाइ छ। साथै, पीडित परिवारले जहाज दुर्घटना भएको दुई वर्षभित्र बिमा दाबीका लागि मुद्दा दायर गर्नुपर्छ। अन्नपुर्णबाट


  •  
  •  
  •