चोरीका २३ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

85
  •  
  •  
  •  

काठमाडौं । ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका २३ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

विभिन्न मितिमा हराएका २३ वटा मोटरसाइकल मंगलबार एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।


  •  
  •  
  •