विकास खर्च ३६ प्रतिशतमा सिमित

70
  •  
  •  
  •  

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना अवधिमा देशको कूल विकास (पुँजीगत) खर्च करिब ३६ प्रतिशतमा सिमित भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ३५.६४ प्रतिशत मात्र हो ।
चालु आर्थिक बर्षमा केपी ओली सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च ५५.९३ प्रतिशत भएको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । वैशाखसम्म ८ खर्ब २४ अर्ब ७९० करोड रुपैयाँ बजेट खर्च भएको जनाइएको छ ।
६ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ भने चालु खर्च छ । चालु खर्च लक्ष्यको ६६.४१ प्रतिशत खर्च भइसकेको छ । चालु खर्चभित्र स्थानीय तह र प्रदेशमा जाने अनुदान समेत पर्छ । यो अवधिमा वित्तीय व्यवस्थातर्फ ३९.७७ प्रतिशत खर्च प्रगति देखिएको छ ।
वैशाख मसान्तसम्म ७ खर्ब ६१ अर्ब १ करोड राजस्व सरकारले उठाएको छ । यो लक्ष्यको ७५.२२ प्रतिशत प्रगति हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो । सरकारले कर राजस्वतर्फ ७ खर्ब ९ अर्ब ६३ करोड (७७.७३ प्रतिशत), गैरकर राजस्वः ५१ अर्ब ३८ करोड (५२ प्रतिशत) र कुल ७ खर्ब ६१ अर्ब १ करोड (७५.२२ प्रतिशत) राजश्व संकलन गरेको छ ।


  •  
  •  
  •