विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्छ : मन्त्री भट्टराई

725
  •  
  •  
  •  

पाँचथर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको भन्दै हिंसा, आतंक र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा शनिबार फिदिममा सम्बोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए ।

समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने उनको भनाइ छ ।

आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको प्रष्ट पारे ।

मुलुक तीन तहको संघीय व्यवस्थामा गएपछि कानूनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा संघीय सरकारले धेरै समय खर्चनुपर्दा सरकारले अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ ।

पूर्वी नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको र आफू त्यही मन्त्रालयको विभागीयमन्त्री भएकाले यहाँको पर्यटन प्रनर्द्धनका लागि तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्दै पर्यटन वर्ष २०२० लाई सफल पार्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।


  •  
  •  
  •