फोरम(लोकतान्त्रिक) पनि आन्दोलनमा

71
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।

१६ बुँदे सहमतिका सूत्राधार मानिएका विजयकुमार गच्छदार अन्ततः चारदलीय गठबन्धनबाट बाहिरिएका छन् । चारदलीय शीर्ष नेता सम्मिलित विशेष समितिकै सदस्यका रूपमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दल फोरम लोकतान्त्रिकले मधेस, थरुहट, कर्णाली क्षेत्रलगायतमा जारी आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेका हुन् । छिटै केन्द्रीय समिति बैठक बसी आन्दोलनका कार्यक्रम अघि सार्ने उनले बताए ।

‘दोस्रो संविधानसभापछि कांग्रेस-एमालेले पहिलेका निर्णय उल्टयाउने र बहुमतको घोडा चढेर आफ्नो अनुकूलको यथास्थितिवादी संविधान बनाउन निरन्तर लागिरहेका छन्,’ गच्छदारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी प्रस्तावित सात प्रदेशको विरुद्धमा सडक र सदन दुवैमा आन्दोलन गर्छौं ।’

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीसँगै संविधानका विवादित विषय सुल्झाउन प्रयत्नशील  फोरम लोकतान्त्रिक १६ बुँदे सहमतियता चार दलको सहयात्री थियो । ‘आज दिउँसो बसेको बैठकमा मैले नेताहरूमा कुनै गम्भीरता देखिनँ,’ गच्छदारले भने, ‘ठूला दलका केही नेतालाई खुसी बनाउन भइरहेको सीमांकन हामीलाई मान्य हुन्न ।’

प्रस्तावित सीमांकनमा कैलाली कञ्चनपुर र झापा, मोरङ, सुनसरीलाई पहाडसँग मिसाउन नहुने अडान राख्दै आएको फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले प्रस्तावित सात प्रदेशको नयाँ सीमांकनमा समेत आफ्नो माग सम्बोधन नभएको भन्दै विशेष समिति बैठक बहिष्कार गरेका छन् । थरुहट आन्दोलनको संयोजन आफ्नो दलका महासचिव रामजनम चौधरीले गरिरहेको भन्दै उनले आफ्नो दलले त्यसलाई अनुमोदन गरेको जानकारी दिए ।

महासचिव चौधरीले गच्छदार चार दलको बैठकबाट बाहिरिनेबित्तिकै चारदलीय गठबन्धनबाट आफ्नो पार्टी बाहिरिएको घोषणा गरेका थिए । ‘उहाँहरूले कैलाली र कञ्चनपुरमा एक इन्च पनि तलमाथि नगर्ने, पूर्वमा पनि टसमस नहुने भनेपछि चारदलीय मोर्चामा बस्नुको औचित्य रहेन,’ चौधरीले कान्तिपुरसँग भने, ‘आजदेखि हामी आन्दोलनमा गयौं, उहाँहरू आफ्नो खुसीमा संविधान बनाउनुहोस् ।’
मधेस, थरुहट आन्दोलनलाई समर्थन गरे पनि यो दलले उनीहरूसँग मोर्चाबन्दी तत्काल हुने सम्भावना अस्वीकार गरेको छ । तराईमा आन्दोलनका नाममा घुसपैठ बढेको दाबी गर्दै गच्छदारले प्रश्न गरे, ‘यो देश जोगाउने कि नजोगाउने, ठूला पार्टीका नेताहरूले दूरदर्शी भएर सोचून्, मैले उनीहरूमा कुनै दूरदर्शिता देखिनँ ।’ कान्तिपुरबाट


  •  
  •  
  •