सहमति अनुमोदन गराउन गएका गच्छदार फर्केनन्

151
  •  
  •  
  •  

काठमाडौं ४ असोज ।
प्रमुख तीन दलसँग ४ बुदेँ सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार संविधानसभामा फर्केनन्।

प्रमुख दलका नेतालाई गच्छदारलाई अन्तिम समयमा निराश हुदैँ खबर गरे, ‘संविधानसभा घोषणा गर्ने समारोहमा उपस्थित भए भने फर्किदा म पार्टी अध्यक्ष नहुने भए, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’ गच्छदारको यो सन्देश पछि प्रमुख दलका नेताहरु निराश भएर संविधानसभाको औपचारिक समारोह सुरु गर्ने तयारीमा लागे।

प्रमुख दलले गच्छदारलाई मनाउनका लागि बिहानै देखी प्रयास गरेका थिए। त्यसका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कानुन मन्त्री नरहरी आचार्य र बन मन्त्री महेश आचार्यले बिहानै देखी प्रयत्न सुरु गरेका थिए। अन्ततः ‘हिमाल, पहाड र मधेसमा देखिएको सिमाङकनको बिबाद आयोगमार्फत टुंग्याउने छ’ भन्ने वाक्यांश लेखेमा आफु सहमतिका लागि फर्कने भन्ने सन्देश गच्छदारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिए।

दाहालले त्यो सन्देश नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुनाए। प्रधानमन्त्री सुशील कोइरालासमक्ष पनि गच्छदार आउन सकारात्मक भएको सन्देश सुनाइयो। लगत्तै, बनमन्त्री आचार्य र कानुनमन्त्री आचार्य १२ बजेतिर लाजिम्पाटस्थित दाहाल निवास गए। त्यहाँ गच्छदारले गरेको प्रस्तावको बारेमा कुराकानी भयो। त्यसमा कांग्रेस पनि सहमत भयो, ओली पनि त्यसमा सहमत जनाए।

गच्छदार फर्कने खुसीको सन्देश प्रमुख दलका नेतासमक्ष पुग्यो। त्यसका लागि गोप्य स्थान चयन गर्ने जिम्मा दाहाललाई दिइयो, जहाँ प्रेस र मिडियाका मान्छे नआउने र भित्र भित्रै भइरहेको सहमति थाहा नहोस भन्ने त्यसको उदेश्य थियो। अन्ततः दाहालले स्थान चयन गरे– गोरखा पुर्ख्यौली घर भएका एकजना ब्यक्तिको बानेश्वरस्थित निवासलाई।

त्यही भेटघाट गर्ने कुरा भयो, गच्छदार त्यहाँ आउने भए। त्यसपछि दाहाल, मन्त्रीद्धय नरहरी र महेश आचार्य जाने भए, ओलीले पार्टी भित्र छलफल गरेर माधव नेपाललाई बानेश्वरको गोप्य स्थानमा पठाए। त्यही गच्छदार आए।

गोरखा पुर्ख्यौली घर भएका ती ब्यक्तिको घरमा २ बजे देखी ४ बजेसम्म गम्भिर वार्ता भयो। त्यहीवाट गच्छदारले आफ्ना सभासदलाई सिंहदरवार आउन आग्रह गरे। त्यही गच्छदारले ४ बुदेँ सहमति गर्न तयार भए।

पहिलो बुदाँ, मधेस–थरुहटसहित पहाडमा देखिएको सिमा समस्या राजनीतिक सहमतिको आधारमा समस्याको हल गर्ने, दोस्रो ७५ जिल्लालाई १–१ निर्वाचन क्षेत्र मानी अन्य स्थानमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने, समावेशी/समानुपातिकलाई सामाजिक न्यायको बुदाँमा समावेश गरी संविधान संसोधनमार्फत टुंगाउने र अन्तिममा फोरम लोकतान्त्रिक संविधानसभा समारोहमा फर्कने गरी ४ बुदेँ सहमति त्यहाँ जुटयो।

गच्छदारले सो बैठकमा सहमति गरे पार्टी फुटाउने धम्की निरन्तर पार्टी भित्रवाट आएको कुरा सुनाउँदै आफु दबाबमा परेको पनि सुनाए। ‘म त सहमति गर्न सद्यै तयार छु, संविधान घोषणाको समारोहमा उपस्थीति हुने मेरो ब्यक्तिगत इच्छा छ तर मेरा पार्टीका सहमति गर्न मान्दैनन, मैले सहमति गरे पार्टी अध्यक्षवाट निस्काषन गर्ने तयारी गरिरहेका छन्’ भन्दै प्रमुख दल बिच गुनासो राखे। यद्धपी, सो सहमतिमा हस्ताक्षर गर्न आफु तयार रहेको भन्ने बानेश्वरको बैठकमा आफना कुरा राखेर सहमति पत्र नै तयार पारियो। तर, त्यहाँ कसैले हस्ताक्षर भने गरेका थिएनन।

गच्छदार ब्यक्तिगत रुपमा सहमत भए पछि संविधानसभाको निर्धारित ५ बजेको औपचारिक समारोहलाई अलिकति ढिलाई गर्ने सहमति भयो। त्यसपछि तयार भएको ४ बुदेँ सहमति लिएर पार्टीमा अनुमोदन गर्न गच्छदार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जान्छु भन्दै हिडे। जहाँ गच्छदारले आफना केही सभासदलाई तयारी अवस्थामा राखेका थिए। सहमतिको अर्को प्रति बनमन्त्री आचार्यले राखे, स्रोतले भन्यो।

लामो समय देखी प्रमुख दल बिच वार्ता हुँदै आएको उक्त घरमा पहिलो पटक घरवेटीले दाहाल, नेपाललगायत नेतासँग तस्विर लिए।

गच्छदार आउने आशामा एमाओवादी अध्यक्ष दाहाल, बनमन्त्री महेश आचार्य र कानुन मन्त्री महेश आचार्य, एमाले नेता नेपाल गच्छदारलाई आधा घन्टा जति कुरेर त्यही घरमा बसे। तर, आधा घन्टासम्म पनि फर्केनन। पार्टीमा छलफल भइरहेको र त्यसका लागि केही समय लाग्ने भन्दै गच्छदारले अर्को सन्देश सुनाए।

गच्छदारसँग भएको सहमतिमा हस्ताक्षर गर्न ओली आउने समय पनि तय भई सकेको थियो तर प्रधानमन्त्री सुशील कोइराला पनि तयारी अवस्थामा नै थिए। तर, धेरै बेरसम्म गच्छदार आएनन। अन्ततः गच्छदारले पार्टी भित्र सहमति अनुमोदन गरेको खबर गर्ने जनाए। त्यस पछि संविधानसभा भवन अगाडीको अर्याल होटेलमा भेटने तय भयो। त्यही हस्ताक्षर गर्ने कुरा पनि गच्छदार र प्रमुख दल बिच मौखिक सहमति भयो।

त्यसपछि वार्तामा संलग्न नेताहरु बानेश्वरस्थित संविधानसभा भवनमा फर्के। एकछिन पछि गच्छदारको सन्देश आयो, ‘म त्यहाँ आए भने फर्कदा पार्टी अध्यक्ष नहुने भए, त्यसैले म आउन सकिन।’

भारतीय दुतावाससँग निकै बाक्लो उठबस गरिरहेका सभासद रामजनम चौधरी र योगेन्द्र चौधरी मुख्यतः गच्छदारलाई रोक्ने सभासदमा पर्छन। लैनचौरस्थित दुतावासमा पुगेर राय लिदै आएका रामजनम र योगेन्द्रलगायतले गच्छदारलाई हस्ताक्षर गर्न रोकिरहेको प्रमुख दलका नेताहरुलाई सुरु देखि नै थाहा थियो। गच्छदार फर्केर आउन नसक्नुका कारण प्रमुख दललाई बुझ्न कुनै गार्होे थिएन। अन्ततः पार्टी भित्रको गच्छदारको एक्लो प्रयास असफल भयो, उनी संविधान घोषणा जारी हुने दिन भब्य समारोहमा उपस्थित हुन सकेनन्।
नागरिकबाट


  •  
  •  
  •