काठमाडौँ, २५ कात्तिक(ओएनएस) : उपप्रधानमन्त्री तथा तराई मधेस लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशहरूको सीमा पुनः रेखाङ्कन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा गच्छदारले सीमाको पुनः रेखाङ्कनबिना मधेसको समस्या समाधान नहुने भन्दै तिहारपछि ठोस बटमलाइन तय गरेर आन्दोलनरत मधेसी मोर्चा र थरूहट समितिसँग वार्ता गरिने बताएका छन् । गच्छदारले भने-‘तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताहरुवीच वार्ता हुन्छ । त्यसपछि वार्ता टोलीले ठोस प्रस्ताव लिएर वार्ता गर्छ ।’
उपप्रधानमन्त्री गच्छदारले आठ प्रदेशको आफ्नो खाका नमान्दा अहिलेको अवस्था आएको बताए । मधेसमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनु पर्ने आफ्नो धारणा सुनाउँदै उनले तीन ठूला दललाई मिलाएर प्रदेशहरुको सीमा पुनःरेखाङकन गर्नु पर्ने बताए । उनले समानुपातिक समावेशीता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र सीमांकनमा रहेको असन्तुष्टीलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
भारत नेपाल सम्बन्धमा देखिएको चिसोपना र नेपालीहरुले नाकामा गरेको धर्नाका कारण मुलुकमा संकट उत्पन्न भएको बताउँदै उनले गच्छदारले चीनसँग तीनवटा नाकाबाट आपूर्ति गर्न छलफल भइरहेको बताए । उनले सडक स्तोरोन्नतीको काम अघि बढेको बताए ।
उनले भने-‘तातोपानी नाकामा चीन तर्फ २३ किलोमिटर सडक भुकम्पले क्षतिग्रस्त छ । प्रधानमन्त्रीले त्यसलाई सूचारु गर्न आग्रह गरिसक्नु भएको छ । त्यो नाका सूचारु भएपछि आपूर्ति सहज हुन्छ । कोरलानाका पनि खुल्छ ।’