स्थानीय निर्वाचनमा जुट्न गच्छदारको निर्देशन

263
  •  
  •  
  •  

काठमाडौँ, ६ बैशाख ।

नेपाल लोकतान्त्रिक फोरमले पार्टी जिल्ला सभापतिहरूलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरमले पार्टीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर सो निर्देशन दिएको हो । राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) र दलित जनजाति पार्टी नेपालसँग एकीकरण गरेर रूपान्तरित संसद्को पाँचौं दल बनाएका गच्छदारले मंगलबार जिल्ला सभापतिहरूलाई निर्वाचनमा लाग्न निर्देशन दिएका हुन् ।

पार्टी एकीकरणपछि पहिलोपटक जिल्ला सभापतिसँग गच्छदारले छलफल गरेका हुन् । ‘पार्टीको जिल्ला संगठन रहेका ६२ जिल्लाका सभापतिलाई काठमाडौं बोलाएर स्थानीय तहको निर्वाचनको तयारी के कस्तो भइरहेको छ भन्ने जानकारी लिएका हौँ,’ महासचिव रामजनम चौधरीले नयाँ पत्रिकासँग भने, ‘साथीहरू निर्वाचनका लागि उत्साहित हुनुहुन्छ । धेरै जिल्लामा पार्टीको संगठन राम्रो भएकाले संसद्मा भन्दा स्थानीय तहको निर्वाचनमा पार्टीको हैसियत बढ्नेमा आशावादी भएका छौँ ।’

निर्वाचनअघि सरकारमा नजाने
नेपाल लोकतान्त्रिक फोरम ३१ वैशाखमा घोषित निर्वाचनअघि सरकारमा सामेल हुने कुनै सम्भावना नरहेको गच्छदारले बैठकमा नेताहरूलाई जानकारी गराएका थिए । ‘सत्तारुढ दलबाट आकर्षक प्रस्तावसहित सरकारमा सहभागी हुने प्रस्ताव नआएको होइन,’ गच्छदारको भनाइ उद्धृत गर्दै चौधरीले भने, ‘तर मैले स्थानीय निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी बनाउने भन्नेमा ध्यान केन्द्रित गरेकाले सरकारमा सहभागी हुन नसकिने जवाफ दिइसकेको छु ।’

पार्टीको नामबाट मधेस हटाएर राष्ट्रिय पार्टी बनाउन लागिपरेका गच्छदारले स्थानीय निर्वाचनमा मधेसमा आफ्नो पकड बलियो बनाउँदै पहाडमा पनि केही स्थानमा आफ्नो उपस्थिति देखाउने गरी लागिरहेका छन् । ‘हाम्रो रणनीति तराईमा पार्टीको स्थान बलियो बनाउँदै पहाडमा पनि उपस्थिति देखाउने हो,’ महासचिव चौधरीले भने ।

नयाँ पत्रिकाबाट


  •  
  •  
  •