काठमाडौ, २९ मंसिर(एजेन्सी) : शनिबार बिहारमा एक महिलाले आप्नो पतिको चितामा हामफालेर प्राण त्यागेको समाचार आएको थियो । उक्त सती काण्डले अहिले नयाँ मोड लिएको छ । महिलाका छोराले ती महिलाले आफू सती नभएको बताउँदै आमाको मृत्यु चितामा पुग्नुभन्दा पहिले नै भएको खुलासा गरेका छन् ।
सती गएकी भनिएकी गहवा देवीका छोरा रमेश मण्डलले आफ्नो पतिको मृत्यु भएको खबर पाएपछि गहवादेवीलाई हृदयघात भएको र उनको मृत्यु भएको बताएका छन् । यसैकारण उनीहरुले आमा गहवादेवीको अन्तिम संस्कार पनि बाबुको चितामा नै गरेको बताएका छन् ।
क्यान्सरका कारण मृत्यु भएका ७८ वर्षीय रामचरित्र मण्डलको उनका परिवारले घरको नजिकै उनको दाहसंस्कार गरेका थिए । तर, केहीबेरपछि रामचरित्रकी पत्नी गहवादेवी चितामा जलिरहेको पाइएको थियो ।
गाऊँलेले उक्त घटनाबारे प्रहरीलाई सूचना दिएका थिए र उनीहरूले महिला आफै पतिको चितामा गएर आत्मदाह गरेको बताएका थिए । उनीहरुले परिवारहरूले उनलाई बचाउने कुनै प्रयास नगरेको आरोप लगाएका थिए ।
यो पनि पढ्नुस्…