उच्चस्तरीय संयन्त्रको कार्य क्षेत्रमा विवाद

334
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : प्रमुख तीन दलबीच ओलदी निवास बालकोमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा कुरा नमिलेपछि बैठक निष्कर्षविहीन भएको हो । दलहरु बिहीवार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा सहमति नजिक पुगेका थिए । तर, शुक्रवार ओली निवासमा बसेको बैठक भने उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा कुरा नमिलेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

एमाले अध्यक्ष ओली उपचारका लागि आज नयाँ दिल्ली जाने तय भएपछि आजै सहमति जुटाउने कसरत भएको थियो । स्रोतका अनुसार कांग्रेस–एमाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सहमति नजिक पुगेका छन् । तर, संयन्त्रको कार्यक्षेत्रको विषयमा भने दलहरुबीच विवाद देखिएको छ । कांग्रेस एमालेले संविधान लेखनको कामलाई प्रभावित गर्न नहुने, संयन्त्रको निर्णय बाध्यकारी नहुने र संयन्त्रको संयोजक आलोपालो गर्नुपर्ने शर्त राखेका छन् । एमाओवादीले भने संयन्त्रमा मधेसी र जनजातिलाई पनि संयन्त्रमा समावेश गर्नुपर्ने माग राखेको थियो ।

तर, कांग्रेस एमालेले भने धेरै दललाई संयन्त्रमा सहभागी गराउँदा विवाद हुने भन्दै तीन दल सम्मिलित संयन्त्र गठन गर्नुपर्ने बताएका छन् । यसैविच तीन दलबीच कुरा नमिलेपछि शुक्रवार बस्ने व्यवस्थापिका संसद बैठक अहिलेसम्म सुरु हुन सकेको छैन् । प्रमुख प्रतिपक्ष दल एमाओवादीसहित मधेसी दल संघीय समाजवादी पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने, सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखि पुरा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका थिए ।


  •  
  •  
  •