मदन कोइराला
काठमाडौं, २८ जेठ (ओएनएस) । जेठ १६ गतेदेखि निरन्तर रुपमा अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसद सुचारु गर्न चार पक्षीबीच पाँच बुँदे सहमति भएको छ । नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेस केन्द्रित दलहरुबीच बुधबार दिउँसो संविधानसभामा पाँच बुदे सहमति भएपछि संसद सुचारु हुने भएको हो । दलहरुउच्चस्तरीय राजनीतिक समिति गठन गर्न सहमत भएका छन् ।
प्रमुख तीनदलकातर्फबाट २/२ जना र मधेसी दलकातर्फबाट एक जना सदस्य रहनेगरी समिति गठन गर्न दलहरुबीच सहमति भएको छलफलमा सहभागी संघीय समाजवादीका अध्यक्ष अशोक राईले जानकारी दिए । यसैगरी निर्वाचनमा भएको धाँधली छानविन गर्न संसदीय समिति गठन गर्ने, सरकारले गरेको रकमान्तरका विषयमा आजसाँझ बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्रीले जवाफ दिने र श्वेतपत्र जारी गर्ने तथा मधेसमा भएका गैर न्यायिक हत्याको छानविन गर्न न्यायिक आयोग गठन गर्ने सहमति भएको राईले जानकारी दिए ।
प्रंमुख प्रतिपक्षहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने, निर्वाचनमा भएको धाँधली छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने तथा सरकारले गरेको रकमान्तर रोक्नुपर्नेलगायतका माग राखी गत १६ गते देखि संसद अबरुद्ध पार्दै आएका थिए । चार पक्षबीच भएको सहमतिपत्रमा आजै हस्ताक्षर भएको छ ।