२ करोड लगानीमा पार्टी प्यालेस

348
  •  
  •  
  •  

रुपन्देही ,४ माघ (ओएनएस) : भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल र बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बन्न थालेपछि रुपन्देहीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल तथा पार्टी प्यालेसहरु खुल्ने क्रम बढेको छ ।

यसैक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवामा २ करोड रुपैयां लगानीमा यति पार्टी प्यालेस सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी सत्यब्रत ज्ञवालीको एकल लगानीमा सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्डमा ३ कठ््ठा क्षेत्रफलमा ११ वटा कोठासहितको पार्टी प्यालेस स्थापना भएको हो ।

पार्टी प्यालेसमा वातानुकुलित ३ सय,२ सय ५०, एक सय जना क्षमताको सभा हल, ४० जना क्षमताको कन्फेरेन्स हल, स्नुकर हाउस, रेष्टुरेन्ट र २ वटा बार को सुविधा रहेको पार्टी प्यालेसका कार्यकारी अध्यक्ष सुब्रत ज्ञवालीले जानकारी दिए । थकाली खानासहित नेपाली,इण्डियन,चाइनिज र कन्टिनेन्टल परिकार र क्याटरिङ सेवाको विशेषता रहेको पार्टी प्यालेसमा २० जनाले रोजगारी पाएका छन् । पार्टी प्यालेसले गाडी पार्किङका लागि एक कठ्ठा जग्गा लिजमा लिएर पार्किङस्थल बनाइएको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं २० र २१ मा देशकै ठूला अष्ट्रिच फार्म र गाई फार्म, पञ्चकन्या ग्रुप लगायत दर्जन बढी उद्योगहरु र पर्यटकीयस्थल बाउन्नकोटी वन रहेका र जिल्लाकै ठूलो नगरपालिका भएकाले उद्योगी,व्यवसायी तथा आन्तरकि र वाह्य पर्यटकको आवश्यकता र मागलाई मध्यनजर गरी पार्टी प्यालेसमा लगानी गरेको अध्यक्ष ज्ञवालीले बताए । ‘नगरपालिकामै यो पार्टी प्यालेस दोस्रो ठुलो र सुविधासम्पन्न हो’–ज्ञवालीले भने–‘भविष्यमा लगानी थप गरी क्षमता विस्तार गरिनेछ ।’

ज्ञवालीले आफुले हार्डवेयर व्यवसाय गर्दागर्दै राज्यको अव्यवहारिक नीतिका कारण ढुंगाा,गिट्टी बालुवा निकासीमा अवरोध भएपछि व्यवसाय नै परिवर्तन गरी पार्टी प्यालेसमा लगानी गरेको खुलाए ।

पार्टी प्यालेसको शनिबार रुपन्देही क्षेत्र नं ३ का सभासद एवं पुर्वमन्त्री बालकृष्ण खांणले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सभासद खांणले अन्तरराष्ट्रिय विमानस्थल र अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणपछि रुपन्देही जिल्ला देशकै प्रमुख आर्थिक केन्द्र बन्ने भएकाले यहां स्तरीय होटल तथा पार्टी प्यालेसको प्रचुर सम्भावना रहेको औंल्याए ।

औद्योगिक घराना पन्चकन्या ग्रुपका संचालक ध्रुवकुमार श्रेष्ठले जिल्लाकै औद्योगिक हबको रुपमा विकसित हुदै गएको कोटिहवा क्षेत्रमा स्तरीय होटलको अभाव खड्किरहेको अवस्थामा सञ्चालनमा आएको पार्टी प्यालेसले उद्योगी व्यवसायी लाभान्वित हुने बताए ।

कार्यक्रममा एमाले रुपन्देहीका उपाध्यक्ष शिव सुवेदी,प्राध्यापक ताराप्रसाद उपाध्याय ज्ञवाली लगायतले बोल्दै गुणस्तरीय सेवा सुविधा दिन सुझाव दिए । पार्टी प्यालेस सञ्चालनमा आएपछि यस क्षेत्रमा हुने सभा,सम्मेलन,सेमिनार,बिवाह,ब्रतबन्ध जस्ता कार्यक्रमका लागि अन्यत्र धाउनुपर्ने वाध्यताको अन्त्य हुने भएको छ । पार्टी प्यालेसले ३ किलोमिटर दुरीसम्म निशुल्क होम डेलभरी सुविधा समेत उपलब्ध गराएको छ ।


  •  
  •  
  •