अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ : राष्ट्रपति

560
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर (अाेएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता  भएका व्यक्तिलाई अधिकारमुखी दृष्टिकोणबाट हेर्नुपर्ने बताएकी छन्।

२७अाैं अन्तर्राष्ट्रिय अपांग  दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले अपांगता भएका व्यक्तिलार्इ दया र मायाको दृष्टिले नभइ अधिकारमुखी रूपमा हेर्दै विकासको मूल प्रवाहमा ल्याएर आत्मनिर्भर बनाउनुपर्ने बताएकी हुन्।

संयुक्त राष्ट्रसङ्घीय अपांगता महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल गर्न जरुरी रहेको जनाइएको छ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिको सहभागिताजस्ता विषयलाई आत्मसात् गरी स्रोतसाधन लगायत आवश्यक कुराको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजानेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिइन्।

‘अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तरराष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम आयोजना गरी सोमबार अपाङ्ग दिवस मनाइँदै छ।


  •  
  •  
  •