नौ महिनामा ३७ देशका एक सय ५४ नागरिक निष्कासित

104
  •  
  •  
  •  

काठमाडौं २२ भदौ ।
नेपालमा गम्भीर किसिमको अपराधमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ । नौ महिनायता नेपाल सरकारले विभिन्न ३७ देशका एक सय ५४ विदेशी नागरिकलाई निष्कासन गरेको छ । निष्कासन गरिएका धेरैजसो पर्यटक भिसामा आएका विदेशी हुन् । केही बिजनेस भिसामा आएकालाई पनि अवैध गतिविधिमा संलग्न भएको पाएपछि निष्कासन गरिएको छ । निष्कासन गरिएकाहरू निश्चित वर्ष नेपाल आउन पाउँदैनन् । उनीहरूले गरेको अपराधअनुसार नेपाल आउन नपाउने वर्ष तोकिने गरिएको छ । नेपालबाट निष्कासित हुनेहरूमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् ।

23चिनियाँपछि अमेरिका, जापान, उज्वेकिस्तान, अस्ट्रेलिया, बेलायत र फ्रान्सका नागरिक छन् । अध्यागमन विभागका अनुसार नौ महिनामा ५८ चिनियाँ, १५ अमेरिकी, आठ जापानी, आठ उज्वेकिस्तानी, सात अस्ट्ेरलियन, सात बेलायती र पाँचजना फ्रेन्च नागरिकलाई निष्कासन गरिएको छ । विभागको तथ्यांकअनुसार भुटानका दुई, इटालीका एक, भियतनामका एक, श्रीलंकाका तीन, पाकिस्तानका दुई, मेक्सिकोका दुई, मलेसियाका एक, जर्मनीका एक, बंगलादेशका एक, रसियाका चार नागरिकलाई निष्कासन गरिएको छ ।

त्यस्तै, न्युजिल्यान्डका एक, आइभोरीकोस्टका एक, अल्जेरियाका एक, इजिप्टका एक, फिलिपिन्सका दुई, स्विट्जरल्यान्डका एक, इन्डोनेसियाका दुई, बेल्जियमका तीन, कोरियाका दुई, नेदरल्यान्डका दुई, माल्डोभाका एक, इजरायलका दुई, युक्रेनका दुई, ताइवानका एक, सिरियाका एक, किर्गिस्तानका एक, म्यानमारका एक, ग्रिकका एक, लिथुवानियाका एक र डेनमार्कका एक नागरिक निष्कासनमा परेका छन् । निष्कासन गरिएकाहरू धेरैजसो नेपालको जेल परेका व्यक्तिहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । जसमा धेरैजसो लागुऔषको कारोबारमा संलग्न छन् ।

भरियाका रूपमा नेपालबाट लागुऔषध तस्करी गर्न खोज्दा धेरै पक्राउ परेका हुन् । त्यस्तै वर्षाैंसम्म अवैध रूपमा बस्दै आएका, वन्यजन्तुको कारोबारमा संलग्न तथा विदेशमा अपराध गरेर नेपालमा लुक्न आएकासमेत निष्कासनमा परेको विभागले जनाएको छ । नेपालको सुरक्षा प्रणाली कमजोर भएको आँकलनका आधारमा विदेशी अपराधी लुक्न नेपाल प्रवेश गर्ने गरेका छन् ।

विदेशीहरू नेपाल आएपछि उनीहरू कहाँ के गर्छन् भन्ने नियमन गर्ने प्रणाली छैन । ‘भिसा अवधि सकिएका विदेशी के गरिरहेका छन् भनेरसमेत खोजबिन गर्ने प्रणाली छैन,’ अध्यागमन विभागका एक अधिकारी भन्छन्, ‘यस्तो अवस्थाले गलत नियतले पनि कतिपय विदेशी नेपाल आउने गरेका छन् ।’

नयाँपत्रिकाबाट


  •  
  •  
  •