विदेशमा अलपत्र नेपालीलाई शुक्रबारबाट उद्धार गरिने, शुक्रबार यूएई र म्यानमारबाट ल्याइने

86
  •  
  •  
  •  

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई शुक्रबारबाट उद्धार गर्ने भएको छ । पहिलो चरणमा यूएई र म्यानमारमा रहेका नेपालीलाई ल्याइने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी शुक्रबार २ सय १४ जनालाई काठमाडौं ल्याइँदैछ ।

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जनालाई ल्याइदिने भएको हो । यूएईले शुक्रबारदेखि आठ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउन लागेको हो । यूएईबाट ४ हजार नेपाली फर्कने तयारीमा छन् ।

कुवेतममा रहेका करिब तीन हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको छ । आममाफी पाएका कामदारलाई कुवेत सरकारले फिर्ता गर्ने भएको हो । कुवेतबाट करिव ५ हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन् ।

पहिलो चरणमा सरकारले समस्यामा रहेका करिव ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । कुवेत र साउदी अरेबियाबाट आठ–आठ हजार फर्कने तयारीमा छन् । कतारबाट ११, मलेसियाबाट ७ हजार र साइप्रसका चार सय पनि फर्कने सूचीमा छन् ।

त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् । एक दिनमा एक मुलुकमा एक उडान गरी १० वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी छ । नेपाल वायुसेवा निगमका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान उद्धारका लागि तयार गरिएको छ ।

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राखिनेछ । त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।


  •  
  •  
  •