राष्ट्रपति विद्याबारे छोरी उषाकिरणलाई प्रश्न

170
  •  
  •  
  •  

शीतलनिवासमा

१) देशको सर्वोच्च राजकीय पदमा पुग्नुभयो । परिवारमा कत्तिको खुसीयाली मनाइयो ? खुसी त स्वाभाविक रूपमा हुने नै भयो । निर्वाचित भएका दिन नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्म घरमा आउनुभएको थियो । शुभकामना दिनुभयो । हामी परिवारका सदस्यहरूले पनि त्यही हुलमुलमा खुसी बाँड्यौँ ।

२) राष्ट्रपतिमा निर्वाचित भएर घर पुग्दा उहाँको कस्तो प्रतिक्रिया थियो ? त्यस्तो छुट्टै केही थिएन । दिनभरिको धपेडीले थाक्नुभएको थियो । घरमा मान्छेहरू पनि धेरै आउनुभएको थियो । राति सुत्नुअगाडि एकछिन मात्रै उहाँसँग भेट भयो ।

३) कस्तो कुराकानी भयो ?

शुभकामना दियौँ । देश र जनताका लागि राम्रो काम गर्ने विश्वास उहाँको छ । हजुरआमा (विद्याकी आमा) त्यही दिन आउनुभएको थियो । उहाँसँगै एकछिन कुरा गर्नुभयो ।

४) आमासँग कस्तो कुरा गर्नुभयो ?

उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । हजुरआमाको फोन आएको आई भइरह्यो । अनि ममीले ‘छोरी राष्ट्रपति भएपछि त आमाको फोन बिजी पो हुन थाल्यो’ भनेर जिस्क्याउनुभयो । एकछिन हाँसो भयो ।

५) लामो राजनीतिक जीवनपछि देशको सर्वोच्च पदमा पुग्नुभयो । त्यस्तो वेला क–कसलाई सम्झिनुभयो, क–कसको सहयोगको कुरा गर्नुभयो ? हामीसँग त्यो कुरा त गर्नुभएन । पक्कै पनि ड्याडी (मदन भण्डारी)देखि पार्टीका नेता–कार्यकर्ता, सहयोग गर्ने अरू पार्टीका नेता, सर्वसाधारण सबैलाई सम्झिनुभएको होला । किनभने, यो कुरा उहाँले सार्वजनिक रूपमा पनि भनिरहनुभएको छ ।

६) राष्ट्रपति निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?

अहिले त उहाँसँग बहिनी र हजुरआमा मात्रै बस्नुभएको छ ।

७) पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो, दैनिक सयौँ नेता–कार्यकर्ता भेट्नुहुन्थ्यो । संवैधानिक राष्ट्रपतिका रूपमा शान्त शीतलनिवासमा बस्न असहज त मान्नुभएको छैन ? हिजो (बिहीबार) राति मात्रै शीतलनिवास सर्नुभएको हो । आज (शुक्रबार) पनि भेटघाटमै व्यस्त हुनुभयो । त्यस्तो ‘फिल’ गर्नुभएको छैन ।

८) उहाँ राष्ट्रपतिको उम्मेदवार बन्दै हुनुहुन्छ भन्ने परिवारमा कहिले थाहा भयो ?

हामीले चाहिँ पत्रिका हेरेर थाहा पायौँ । सुरुमा त्यो सूचना आउँदा हामी ‘सक’जस्तो भयौँ । हामीलाई चाहिँ त्यो हो जस्तो लागेन । ममीसँग सोध्दा ‘हैन अब म त्यता नजाने, पार्टीमै बस्ने’ भन्नुभयो । हामीले पनि त्यही सुझाब दिएका थियौँ, त्यतिखेर चाहिँ । पछिल्लोपल्ट एक हप्ताजति अघि हो । अनलाइनमा आयो, अनि त्यतिखेर थाहा पाएका हौँ हामीले ।

दैनिकी

९) बिहान कति बजे उठ्नुहुन्छ ?

प्राय: साढे ६–७ बजेभित्र उठिसक्नुहुन्छ ।

१०) चिया, कफी के रुचाउनुहुन्छ ?

कम चिनी भएको कालो चिया खानुहुन्छ ।

११) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?

हल्का गर्नुहुन्छ । फुर्सद हुँदा आँगनमै केहीबेर हिँड्नुहुन्छ । बिहान प्राय: मान्छेहरू भेट्न आइसकेका हुन्छन् । समय पाउनुभयो भनेचाहिँ हिँड्नुहुन्छ । १

२) योगा गर्नुहुन्छ कि ?

योगा पहिले भने गर्नुहुन्थ्यो । तर, अचेल गर्नुहुन्न ।

१३) बेलुकामा एक्सरसाइज गर्नुहुन्छ कि ? बिहान गर्न नपाएको दिन आँगनमा हिँड्नुहुन्छ । बेलुका राति नै भए पनि खाना खाएपछि हिँड्नुहुन्छ ।

१४) राति कति बजे सुत्नुहुन्छ ?

लगभग साढे १०/११ बजेतिर सुत्नुहुन्छ ।

१५) सुत्नुअघि केही खाने बानी छ कि ?

छैन, खाना खाइसकेपछि केही खानुहुन्न ।

१६) घरमा बस्दाखेरि सामान्यत: कस्तो लुगा लगाउन मन पराउनुहुन्छ ?

कुर्ता–सुरुवाल लगाउनुहुन्छ ।

पत्रपत्रिका/टेलिभिजन

१७) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ? पढ्नुहुन्छ । तर, निश्चित टाइम छैन पढ्ने । जतिखेर भ्याउनुहुन्छ, त्यतिखेर पढ्नुहुन्छ ।

१८) टेलिभिजन कत्तिको हेर्नुहुन्छ ? टेलिभिजन पनि आफूले भ्याएका वेलामा हेर्नुहुन्छ । बेलुका सबै काम, भेटघाटहरू सिध्याएर समय भयो भने हेर्नुहुन्छ ।

१९) आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? ममीले धेरै बाहिर देखाउनुहुन्न । हामीलाई अझै पनि सानै बच्चा छन्जस्तो ठान्नुहुन्छ । आफूलाई असर परेको, प्रभाव परेको ममीले बाहिर कहिल्यै पनि देखाउनुभएन । हामी सानैदेखि त्यही माहोलमा हुर्कियौँ ।

२०) आफ्नोबारेमा आउने नकारात्मक समाचारमा पनि प्रतिक्रिया जनाउनुहुन्न ? पत्रिकाहरूमा अन्तर्वार्ता दिएको वेलामा कहिलेकाहीँ हामीले नै ‘ममी यस्तो भन्नुभाथ्यो र’ भनेर सोध्दा ‘मैले त्यस्तो त भनेकी थिइनँ, आफैँ बुझेर लेखेछन्, मैले बोलेको कुरा ट्विस्ट गरेर लेखेछन्’ भन्ने सामान्य टिप्पणी गर्नुहुन्छ ।

२१) पत्रिकामा उहाँका कार्टुन कति छापिएका छन् ? एक–दुईपल्ट छापिएका छन्जस्तो लाग्छ ।

२२) पहिलोपल्ट छापिएको आफ्नो कार्टुन हेर्दा उहाँको प्रतिक्रिया कस्तो थियो ? ‘म यस्ती देखिन्छु र’, ‘यस्ती त देखिन्नँ, त्यत्तिकै बनाएछ’ भनेर हाँस्नुभयो ।

२३) कस्तो बनाइएको थियो र कार्टुन ? ममी त्यतिवेला रक्षामन्त्री हुनुहुन्थ्यो । सेना समायोजनको कुरा एकदमै ‘हट टपिक’ थियो । त्यतिवेला ममीले भर्खर केमोथेरापी गर्नुभएकाले कपाल छोटो थियो । अनुहार सुन्निएको थियो । त्यसैले होला, टाउकोको बीचबाट सिउँदो निकालेर दायाँ–बायाँ कपाल छुस्स–छुस्स छाडेको, पुक्क बाहिर निस्केका गाला हाइलाइट गरेर कार्टुन बनाइएको थियो । कार्टुन हेरेर ममी हाँस्नुभयो । ‘म यस्ती देखिन्छु र ? देखिन्नँ होला’ भन्नुभयो ।

फिल्म/संगीत

३७) फिल्म हेर्न कत्तिको मन पराउनुहुन्छ ? त्यस्तो धेरै त हेर्नुहुन्न । भ्याउँदा पनि भ्याउनुहुन्न । कहिलेकाहीँ हामी सबैजना बसेर हेरिरहेका छौँ भने उहाँ पनि हेर्नुहुन्थ्यो । अहिले त त्यो पनि भ्याउनुहुन्न ।

३८) कस्तो फिल्म मन पराउनुहुन्छ ? यस्तो नै भन्ने छैन । टिभीमा जस्तो फिल्म आइरहेको छ, त्यही हेर्ने हो । ३९) आफूले हेरेका फिल्मका कलाकारहरू चिन्नुहुन्छ ? अहँ । चिन्नुहुन्न ।

४०) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? अहँ, हेर्नुहुन्न । भ्याउँदै भ्याउनुहुन्न ।

४१) उहाँले हलमा गएर फिल्म हेरेको थाहा छ तपाईंलाई ? फिल्म हेर्नकै लागि हलमा जानुभएको छैन । कहिलेकाहीँ प्रिमियर गरेको वेलामा बोलाउनुभयो भने त्यस्तोमा चाहिँ जानुभएको छ । जस्तो, क्याराभान स्क्रिनिङ हुँदा बोलाउनुभएको थियो, गएर हेर्नुभयो ।

४२) गीत–संगीतप्रति कत्तिको रुचि छ ? रुचि त पक्कै पनि होला । तर, गीत बजाएर एकदम सुन्ने, कलेक्सनहरू राख्ने भन्ने केही पनि छैन । ४३) कहिलेकाहीँ आफैँ गीत गुनगुनाउने गर्नुहुन्छ ? अहँ । गर्नुहुन्न । रेस्टुरेन्ट/खानपिन

४४) परिवार सँगै लगेर खाजा/खाना खान रेस्टुरेन्ट कत्तिको जानुहुन्छ ? ममी रेस्टुरेन्टतिर गएर खान अलि अल्छी–अल्छी मान्नुहुन्छ । त्यस्तो कोसिस नै हुन्न । बरु, ‘के मीठो खानेकुरा हो, घरमै सबैजना बसेर खाऔँ न’ भन्नुहुन्छ ।

४५) भनेको रेस्टुरेन्टबाट घरमै मगाउने ? हो । त्यस्तोमा चाहिँ रुचि दिनुहुन्छ । रेस्टुरेन्ट नै जान भने त्यति रुचि देखाउनुहुन्न । गइहाले पनि हाम्रो करले मात्रै जानुहुन्छ ।

४६) बाहिर खाँदा उहाँलाई मन पर्ने परिकार कस्तो हुन्छ ? ममीलाई चाइनिज फुडहरू बढी मन पर्छ ।

४७) कस्तो रेस्टुरेन्ट मन पराउनुहुन्छ ? हामी सँगै गएर खाने बेइजिङ गार्डेन, एभरेस्ट होटेलको चाइनिज रुममा हो । परिवारलाई समय

४८) परिवारलाई कत्तिको समय दिनुहुन्छ ?

उहाँको पर्सनल टाइम त एकदमै कम छ । त्यही सुत्ने वेला हो, आफ्नो टाइम । बिहान उठेर नित्यकर्म गरेदेखि राति सुत्ने वेलासम्म पूरै टाइम पार्टी, संगठन र कार्यकर्तालाई हो । राति उहाँ आउँदा ढिलो भइसकेको हुन्छ । त्यसैले प्राय: एक्लै खाना खानुहुन्छ । हटकेसमा भएको खाना समाचार हेर्दै खानुहुन्छ । त्यतिवेलै हो, हामीसँग गफ हुने । ममीको पर्सनल टाइम त्यत्ति नै हो ।

४९) परिवारसँग बसेर कहिलेकाहीँ गफगाफ हुँदैन ? कहिलेकाहीँ जमघटका वेलामा हुन्छ । आक्कल–झुक्कल, वर्षमा दुई–तीनपल्ट मात्रै हो । ५०) त्यस्तो जमघटमा राजनीतिक गफगाफ कत्तिको हुन्छ ? राजनीतिक कुरा पनि अलि–अलि हुन्छ । समसामयिक कुराहरू हुन्छन् ।

५१) कत्तिको खुलेर कुरा गर्नुहुन्छ ? आफूले थाहा पाएका राजनीतिक कुरा कत्तिको सेयर गर्नुहुन्छ ? त्यसरी खुल्नुहुन्न । हामीले देखेको–सुनेको कुरा गर्दा अलि–अलि कमेन्ट मात्रै गर्ने हो । तर, आफैँ सुनाउनुहुन्न ।

५२) विदेश जाँदा परिवारका सदस्यलाई सँगै लिएर जान कत्तिको रुचि देखाउनुहुन्छ ? ममीको प्राय: औपचारिक भ्रमण हुन्छ । त्यस्तोमा उहाँले भन्नु पनि भएको छैन, हामीले रुचि पनि देखाएका छैनौँ ।


  •  
  •  
  •