घट्यो सार्वजनिक बिदा, कुन-कुन दिनको विदा कटौती भयो?

714
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ।

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो। सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ। यस वर्ष कटौती भएका बिदा १२ दिन छन्। विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन्।

नेपालीहरूको महान पर्व विजया दशमीमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती भएको छ । वडा दशैँमा १० दिन बिदा दिइँदै आएकामा अब जम्मा ७ दिन बिदा हुने भएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

सरकारले २२ दिन बिदा कटौती गरेको छ । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । अब संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने छ अन्य कुनै पनि दिवसमा सार्वजनिक बिदा हुने छैन । संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने सरकारको निर्णय छ ।

कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई तोड्दै ओली सरकारले यस्तो निर्णय गरेको हो । ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।


  •  
  •  
  •